विराटनगर- मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदारको निधन भएको छ। अध्यक्ष गच्छदारको सोमबार दिउँसो मृत्यु भएको नेपाली कांग्रेस मोरङका उपसभापति भक्तिनाथ माझीले जानकारी दिए।
गच्छदार २०८० माघ १० गते ब्रेन ह्यामरेज भएर थलिएका थिए। उनी गत स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए।
मंगलबार उनको अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ। चार महिनादेखि अर्धचेत रहेका उनी एक महिनायता घरमै राखिएका थिए।
अध्यक्ष गम्भीर बिरामी परेपछि चार महिनायता ग्रामथान गाउँपालिकाकी उपाध्यक्ष गुणवतीदेवी थारुले कार्यवाहक अध्यक्षको रुपमा काम गरिरहेकी छन्।
गत माघ ११ गते (बिहीबार)का लागि तोकिएको राष्ट्रिय सभा सदस्य निर्वाचनको अघिल्लो दिन (बुधबार) नै विराटनगर पुगेर कार्यक्रममा सहभागी भएका बेला अध्यक्ष गच्छदार बेहोस भएका थिए।
होटल इस्टर्न स्टारमा भएको कांग्रेसको छलफलमा सहभागी भएपछि खाना खाने बेलामा उनी बेहोस भएर ढलेका थिए।
उनलाई उपचारका लागि सुरुमा पारस अस्पताल लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि नोबेल मेडिकल कलेज लगिएको थियो।


