काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सचिवालय टिमलाई ब्रिफिङ गरेका छन्।
वर्तमान सत्ता गठबन्धनलाई बलियो बनाएर लैजाने विषयमा ओलीसँग गहन छलफल भएको कुरा प्रचण्डले सचिवालयमा ब्रिफिङ गरेका थिए।
प्रचण्डले सत्ता समीकरणमा कुनै समस्या नआउनेसमेत जिकिर गरेका थिए।
सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा झन्डै चार घण्टा ओलीसँग बसेका प्रचण्डले नयाँ सत्तासमीकरण बन्ने बजार हल्ला निधारार रहेको जिकिर गरेका थिए।
‘अहिले मिडियामा, बजारमा जेजे कुरा आएका छन्, त्यसमा सत्यता छैन,’ सचिवालयमा प्रचण्डले गरेको ब्रिफिङलाई उद्धृत गर्दै प्रचण्डका स्वकिय सचिव रमेश मल्लले भने।
यसअघि गत शनिबार दिउँसो नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग ओलीले लगभग तीन घण्टा छलफल गरेका थिए।
त्यसलगत्तै ओलीलाई फोन गरेका प्रचण्डले आइतबार ओलीलाई सिंहदरवारमा स्वागत गरेका थिए। लगत्तै सोमबार ओलीसँग प्रचण्डले झन्डै ४ घण्टा बिताएका हुन्।
देउवा र ओलीबीचको भेटका विषयलाई लिएर सत्तारुढ दलमा तरंग पैदा भएको छ।
माओवादी र प्रचण्ड निकटका स्रोतहरुले नयाँ सत्ता समीकरण विकास हुने कुनै सम्भावना नरहेको जिकिर गरिरहेका बेला कांग्रेस र एमालेका नेताहरू भने सत्ता सहकार्य गर्न सकिने बताउन थालेका छन्। यद्यपि कांग्रेस र एमालेबीच भइरहेका छलफलका उद्देश्यका विषयमा मूर्त रूपमा दुवै दलका नेताले मुख खोलेका छैनन्।


