काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्रीको पदबाट राजीनामा नदिने भएका छन्।
मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी पदाधिकारीको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो।
राजीनामा नदिएर विश्वासको मतका लागि प्रचण्डले सदनमा प्रस्ताव पेस गर्ने निर्णय गरेको हो।
‘प्रधानमन्त्रीले गलेर राजीनामा दिने कुरा हुँदैन। संविधान बमोजिम संसदबाट विश्वासको मतको सामना गर्ने निर्णय गरेको छ,’ बैठकपछि सचिव देवेन्द्र पौडेलले भने।
मध्यरातमा दुई दल बसेर गरेको सहमतिबाट राष्ट्रिय सहमति नहुने पनि माओवादीको निष्कर्ष छ।
कांग्रेस र एमाले मिलेर ०४७ को व्यवस्थातिर जान खोजेको माओवादीको आरोप छ।
राजीनामा नदिने सोच बनाएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेलसँग छलफल गर्दैन्।
पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमबारे प्रचण्डले राष्ट्रपति पौडेलसँग छलफलका लागि शीतल निवास पुगेका हुन्।
एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच पालैपालो प्रधानमन्त्री बन्ने सहमति गरेका हुन्।


