काठमाडौँ- नेकपा (एकीकृत समाजवादी)ले इजरायलमा रहँदा हमास समूहले बेपत्ता पारेका नेपाली नागरिक विपीन जोशीको रिहाइका लागि पहल गर्न सरकारसँग माग गरेको छ।
पार्टीको १०औँ राष्ट्रिय महाधिवेशनले समसामयिक १९बुँदे प्रस्ताव पारित गर्दै यस्तो आह्वान गरेको हो।
यस्तै, पार्टी पङ्क्तिलाई भ्रष्टाचारविरोधी आन्दोलनमा जुट्न आह्वान गरेको हो।
‘यो महाधिवेशन मुलुकमा व्याप्त भ्रष्टाचारप्रति चिन्ता व्यक्त गर्दै सम्पूर्ण पार्टी पङ्क्तिलाई भ्रष्टाचारविरोधी आन्दोलनमा जुट्न आह्वान गर्दछ। साथै भ्रष्टाचारीलाई कारबाही गर्न सरकारसमक्ष माग गर्दछ,’ पारित प्रस्तावको चार नम्बर बुँदामा भनिएको छ।
बृहत् वामपन्थी एकता र सहकार्यका लागि आह्नवान गरेको सो पार्टीले नेपाली कांग्रेस र एमालेको पछिल्लो समीकरणलाई दक्षिणपन्थी अवसरवादको संज्ञा दिएको छ।
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) दशौँ राष्ट्रिय महाधिवेशनबाट पारित समसामयिक प्रस्तावहरू
१. हाम्रो गौरवशाली पार्टी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को मिति २०८१ असार १६ देखि २१ गतेसम्म आयोजना भएको यो १०औं राष्ट्रिय महाधिवेशन भव्यताका माझ एकताका सम्पन्न भएको छ। यस कार्यमा लागि पर्नुभएका पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता, प्रतिनिधि, पर्यवेक्षक, स्वयंसेवक, सुरक्षाकर्मी, सुभेच्छुकहरू, डाक्टर, नर्स स्वास्थ्यकर्मी लगायत, हल व्यवस्थापन र खाद्य व्यवस्थापनमा लाग्नु हुने तथा महाधिवेशनमा आर्थिक, भौतिक नैतिक सहयोग गर्नु हुने सहयोग दाता सबैमा हार्दिक धन्यवाद ज्ञापन गर्दछ।
२. हाम्रो पार्टीको दशौं राष्ट्रिय महाधिवेशनको सफलताको लागि शुभकामना दिने सम्पूर्ण राजनीतिक पार्टी र विदेशी भाईचारा पार्टीलाई यो महाधिवेशन धन्यवाद ज्ञापन गर्दछ।
३. सरकारको समीकरण परिवर्तन गर्दै कुनै सैद्धान्तिक आधारविना सत्तास्वार्थका लागि जोसँग पनि जतिखेर पनि जस्तोसुकै सम्झौता गरेर अस्थिरता निम्त्याउने काम गर्नु दक्षिणपन्थी अवसरवाद हो भन्ने यो महाधिवेशनको निश्कर्ष छ।
४. यो महाधिवेशन मुलुकमा व्याप्त भ्रस्टाचारप्रति चिन्ता व्यक्त गर्दै सम्पूर्ण पार्टी पंतिलाई भ्रस्टाचार विरोधी आन्दोलनमा जुट्न आह्वान गर्दछ साथै भ्रस्टाचारीलाई कार्वाही गर्न सरकारसमक्ष माग गर्दछ।
५. वर्गसंघर्षलाई सही दिशा र गति दिनका लागि र समाजवादी क्रान्तिका लागि वामपन्थीहरुबीच वृहत एकता र सहकार्य अगाडि बढाउन यो महाधिवेशन नेपालका सबै बामपन्थी तथा कम्युनिष्ट शक्तिहरुलाई आह्वान गर्दछ।
६. जति गरीब छ त्यसले त्यति धेरै ब्याज तिर्नुपर्ने वर्तमान वित्तीय नीति छ। अझ श्रमजीवी जनताहरुको कतिपय सहकारी संस्थामा जम्मा रहेको बचतसमेत अपचलन भएको छ। वित्तीय शोषणको यो अवस्थाबाट आम जनतालाई मुक्त गर्न आवश्यक सबैखाले राजनीतिक तथा कानुनी संघर्षका लागि यो महाधिवेशन अठोट गर्दछ।
७. मनसुनको बेला हुने प्राकृतिक प्रकोपको सन्दर्भमा सचेत रहन र आवश्यक सम्पूर्ण तयारी गरेर आम नेपाली जनतालाई जोखिमबाट मुक्त गर्न आवश्यक सबै पूर्वतयारीका कामहरु प्राथमिकता साथ गर्नका लागि यो महाधिवेशन सरकार र सम्बन्धित निकायलाई आह्वान गर्दछ। नदी किनारा र बाढीबाट प्रभावित हुनसक्ने क्षेत्रका जनतालाई सतर्क रहन समेत अपिल गर्दछ।
८. अहिले हाम्रो आर्थिक जीवन दिनानुदिन सङ्कटपूर्ण बन्दै गएको छ। उद्योग व्यवसायहरू धमाधम बन्द हुँदैछन् वा अति कम क्षमतामा चलेका छन्। यसबाट उद्यमीहरूमा निराशा बढ्दैछ, रोजगारीका अवसरहरू पनि दिनानुदिन साँघुरिँदै गएका छन्। वैदेशिक रोजगारी र शिक्षाका लागि बाहिरिने युवाहरूको संख्या बढ्दैछ। उत्पादन मात्रै होइन मागमा पनि ह्रास आएको छ। उपभोक्ताको क्रयशक्ति घट्दैछ। यो महाधिवेशन यस्तो वर्तमान आर्थिक अवस्था, विश्व पुँजीवाद र यसले खडा गरेको वित्तीय तथा दलाल पुँजीवादी प्रणालीविरुद्ध अकण्टक संघर्षमा लाग्ने अठोट व्यक्त गर्दछ। लगानी र उत्पादनको वातावरण बनाउन, उद्यमहरू डुब्न नदिन प्रभावकारी आर्थिक, वित्तिय तथा मौद्रिक नीतिहरूमार्फत्, अर्थतन्त्र उकास्ने र स्वास्थ्य शिक्षाजस्ता सार्वजनिक सेवाका क्षेत्रहरुमा सार्वजनीक लगानी विस्तार गर्न आवश्यक पहलकदमी लिन यो महाधिवेशन प्रतिबद्धता व्यक्त गर्दछ।
९. उचित ज्यालाको व्यवस्था गर्दै अनौपचारिक क्षेत्रका श्रमजीवीहरूलाई पनि सामाजिक सुरक्षा कोषमा समावेश गर्न तथा श्रम निरिक्षण प्रणालीजस्ता संवैधानिक, कानूनी तथा नीतिगत व्यवस्थालाई प्रभावकारीरुपमा लागू गर्दै श्रमको अवस्थामा सुधार ल्याउन र राष्ट्रिय श्रम आयोग गठनका लागि आवश्यक निर्णय गर्न यो महाधिवेशन नेपाल सरकार र सम्बन्धित सबै सरोकारवालासँग जोडदार माग गर्दछ।
१०. नेपाली कच्चा पदार्थमा आधारित उद्योगहरूका लागि लगानीको वातावरण तयार गर्न, औद्योगिक विकासलाई तीव्रता दिन व्यवस्थापनमा सुधार गर्दा नाफामा जान सक्ने सार्वजनिक संस्थानहरूलाई सुचारु गर्न, औद्योगिक क्षेत्रको पूर्वाधार विकासमा तदारुकता देखाउन तथा लगानीमैत्री कानून एवम् छिटो छरितो कार्यबिधि निर्माणको पहल गर्न यो महाधिवेशन प्रतिबद्धता व्यक्त गर्दछ। वित्तीय सुविधामा निश्चित व्यावसायिक घरानाहरूको मात्र पहुँच हुने वर्तमान वित्तीय एकाधिकारको स्थितिको अन्त्य गरी अधिकतम रोजगारी सृजना गर्ने साना तथा मझौला व्यवसायीहरूलाई प्रोत्साहन गर्ने नीति तय गर्नुका साथै नेपालमा आयात हुने तयारी माल/बस्तुमा भन्सार कमगर्ने तथा कच्चा पदार्थको आयातमा भन्सार दर बढी हुने व्यवस्थाहरूको अन्त्य गरी उत्पादनमैत्री कानूनी व्यवस्था गर्न पनि यो महाधिवेशन माग गर्दछ।
११. प्यालेस्टायनी भूमि गाजालगायतका क्षेत्रमा ईजरायलले गरेको नृशंस आक्रमण र नरसंहारको यो महाधिवेशन निन्दा गर्दछ। यो महाधिवेशन प्यालेस्टायनी जनताको भूमि, स्वतन्त्रता र सार्वभौमिकताको रक्षाको लागि गरिएको संघर्ष प्रति समर्थन जनाउँदै उक्त क्षेत्रमा यथाशिघ्र युद्धविराम गर्न आह्वान गर्दछ। त्यहाँ भईरहेको मानवीय संकट समाधान गर्न र मध्य पूर्व क्षेत्रमा दिगो शान्ति स्थापना गर्नका लागि आवश्यक पहल गर्न सम्बन्धित पक्षलाई अनुरोध गर्दछ।
१२. ईजरायलमा अध्ययन गर्न गएका नेपालका बिपिन जोशी लामो समयदेखि हमासको कब्जामा रहेको भन्ने कुरा सार्वजनिक भएको छ। यो महाधिवेशन उहाँलाई सकुसल मुक्त गर्न सम्बन्धित अधिकारीहरू समक्ष अपिल गर्दछ र निजलाई सकुसल नेपाल फिर्ता ल्याउन पहल गर्न नेपाल सरकार र अन्तर्राष्ट्रिय समुदायलाई अनुरोध गर्दछ।
१३. रूस-युक्रेन युद्ध लम्बिँदै र जटील बन्दै गएको, हतियारको अत्यधिक प्रयोग बढ्दै गएको र धनजनको क्षति त्यही रूपमा बढ्दै गएको छ। त्यसले आर्थिक विकासमा बाधा, खाद्यान्नको अभाव, महङ्गी, विश्वव्यापारमा तथा रोजगारीमा गिरावट, इन्धनको मूल्यमा वृद्धिजस्ता नकारात्मक प्रभाव बढ्दै गएका छन्। यो महाधिवेशन युद्धउन्मादमा प्रोत्साहन गर्ने र युद्धका लागि लगानी गर्ने साम्राज्यवादी रवैयाको निन्दा गर्दछ। युद्धरत मुलुकहरू तथा यस युद्धमा प्रत्यक्ष- अप्रत्यक्षरुपले सङ्लग्न मुलुकहरूलाई संयमित हुन र वार्ताद्वारा समस्याको समाधान गर्न अपील गर्दै त्यसमा प्रभावकारी भूमिका खेल्न संयुक्त राष्ट्र संघलगायत अन्तर्राष्ट्रिय संस्थाहरूलाई आह्वान गर्दछ।
१४. युद्धरत संकट र जोखिमका क्षेत्रमा नेपाली नागरिकहरु सहभागी हुने कुरामा सचेत हुन यो महाधिवेशन आह्वान गर्दछ। त्यसलाई कानुनी रुपमा र सरकारी स्तरबाट नै तदारुकताका साथ रोक्नका लागि आवश्यक प्रवन्ध गर्न यो महाधिवेशन अपिल गर्दछ।
१५. जलवायु परिवर्तन, वातावरणीय सङ्कट, शस्त्रास्त्र होडवाजी, सूचनामा एकाधिकार, युद्ध तथा द्वन्द्वले सिर्जना गरेको विस्थापन तथा शरणार्थी सङ्कट, अभाव र भोकमरीजस्ता आज दुनियाँले व्यहोरिरहेका समस्याहरूको मुख्य कारण आजको विश्व पुँजीवादी साम्राज्यवाद हो र त्यसका दुस्परिणामहरूले मानवजातीको भविष्य अनिश्चित बन्दै गएकोतर्फ चिन्ता व्यक्त गर्दै त्यसका विरूद्ध संसारभरीका क्रान्तिकारी, प्रगतिशील तथा न्यायप्रेमी जनताले चलाएका सबैखालका अभियान, आन्दोलन तथा प्रतिरोधप्रति यो बैठक ऐक्यबद्धता प्रकट गर्दछ।
१६. श्रमजीवी शिक्षक कर्मचारीहरुको विचार र राजनीतिक स्वतन्त्रताको हकमा कुण्ठित हुने कुनै पनि निर्णयप्रति सहमत हुन नसकिने यो महाधिवेशन घोषणा गर्दछ। हरेक क्षेत्रको सामुहिकता, हकहित र अधिकारका लागि संगठीत हुने कुरालाई निषेध गर्ने कुनैपनि प्रपञ्च नगरियोस् भन्ने कुरा यो बैठक सम्बन्धित पक्षलाई ध्यानाकर्षण गराउन चाहन्छ। ‘विचारमा स्वतन्त्रता तथा सेवा प्रवाहमा निष्पक्षता तटस्थता र गुणस्तरीयता को नीतिका साथ शिक्षक कर्मचारीहरुको अधिकार सुनिश्चित हुनुपर्छ भन्ने कुरा यो महाधिवेशन जोड दिन्छ।
१७. जनताको तहबाट उठेका सबै सामाजिक तथा सामुदायिक आन्दोलनहरुलाई वर्गसंघर्षसँग एकाकार गर्ने, मानव समाजमा देखिएका जाति भाषा, धर्म संस्कृति, भुगोल, लिंग विचको एकता भत्काउने र एकआपसमा जुधाउने पुँजीवादी प्रयत्नका विरुद्ध सबैलाई एकजुट हुन यो महाधिवेशन आह्वान गर्दछ।
१८. खाद्य अधिकार तथा खाद्य संम्प्रभुता सम्बन्धि कानून र नियमावलीलाई तत्तकाल कार्यान्वयन गर्न, दुद्य, उखु, तरकारी तथा अलैची किसानहरूका जायज माग तुरून्त पूरा गर्न यो बैठक सरकारसँग जोडदार रूपमा माग गर्दछ।
१९. निवर्तमान उपमहासचिव कमरेड प्रकाश ज्वालाको ममतामयी आमा सीता साहु आज दिवंगत हुनु भएकोमा यो बैठक दुख व्यक्त गर्दै दिवंगत आमा प्रति श्रदान्जली व्यक्त गर्दछ र शोक सन्तप्त परिवारमा हार्दिक समवेदना गर्दछ। साथै, पार्टी पुनर्गठन देखि हाल सम्म दिवंगत हुनु भएका नेता तथा कार्यकर्ता प्रति यो महाधिवेशन भावपूर्ण श्रदान्जली व्यक्त गर्दछ।
धन्यवाद।
२० असार २०८१ प्रज्ञा भवन


