काठमाडाैँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को अनुशासन आयोगले पार्टीका महामन्त्री मुकुल ढकाललाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्न सिफारिस गरेको छ।
आयोगले सभापति रवि लामिछानेलाई कारबाही सिफारिस गरेको र केन्द्रीय समितिको बैठकले महामन्त्री ढकाललाई कारबाही गर्ने तयारी गरेको हो।
आयोगको सिफारिसका विषयमा केन्द्रीय समिति बैठकमा अहिले छलफल भइरहेको छ।
गत असार १९ गते बसेको केन्द्रीय कमिटीको बैठकले ढकाललाई पार्टी महामन्त्रीबाट सात दिनका लागि निलम्बन गरेको थियो। यसपछि कार्यवाहक महामन्त्री बुर्लाकोटीलाई र प्रवक्ताको जिम्मेवारी मनीष झालाई दिएको थियो।
गत वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ को प्रतिनिधि सभा निर्वाचनमा पार्टीले जमानत जोगाउन नसकेपछि रास्वपाले महामन्त्रीलाई देश दौडाहामा पठाएको थियो। ढकालले ३८ जिल्लाका नेता कार्यकर्तासँग प्रत्यक्ष अन्तरक्रिया गरेर ३२ पेज लामो प्रतिवेदन बुझाएका थिए।
प्रतिवेदनका अंश सभापतिलाई बुझाउनुअगावै बाहिर सार्वजनिक गरेको भन्दै ढकालमाथि अनुशासनको कारबाही चलेको हो।


