काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने निर्णय गरेको छ।
बिहीबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले यस्तो निर्णय लिएको हो।
‘प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत नदिने निर्णय गरेको छ,’ राप्रपा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले भने।
प्रधानमन्त्रीमा प्रचण्डमा अराजकता हावी भएको उनको भनाइ थियो। यस्तै हजारौँ-लाखौँ युवालाई विदेश जान बाध्य पार्ने काम पनि उनले गरेको शाहीले आरोप लगाए।
कांग्रेस-एमालेको साझेदारीअनुसार बन्ने नयाँ सरकारमा राप्रपा जानेनजाने विषयमा पनि छलफल नभएको शाहीको भनाइ छ।
यसअघि नै नेपाली कांग्रेस, नेकपा एमाले, जसपा नेपाल, जसपा र नाउपाले प्रचण्डलाई विश्वासको मत नदिने निर्णय गरिसकेका छन्।


