काठमाडौँ– पदमुक्त भएलगत्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवास पुगेका छन्।
शुक्रबार प्रतिनिधि सभाबाट विश्वासको मत नपाएपछि पदमुक्त भएका प्रचण्ड संसद् भवनबाट सिधै शीतल निवास पुगेका हुन्।
शुक्रबारै राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनबारे परामर्श लिन संविधानविद्हरूलाई बोलाएको जानकारी पाएपछि प्रचण्ड शीतल निवास पुगेको बताइएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत नपाउने निश्चित भइसकेको बेला राष्ट्रपतिले संविधानविद्हरूलाई बोलाएका हुन्।
वरिष्ठ अधिवक्ता भीमार्जुन आचार्य, शेरबहादुर केसी, रमण श्रेष्ठ, टीकाराम भट्टराई, चन्द्रकान्त ज्ञवालीलगायतलाई राष्ट्रपतिले बोलाएका छन्।
प्रचण्ड नेतृत्वको सरकारले विश्वासको मत नपाएपछि कांग्रेस र एमालेले नयाँ सरकार बनाउने तयारी गरेका छन्।
दुई तिहाइ सांसदको समर्थनमा केपी ओलीलाई प्रधानमन्त्री बनाउने दुवै दलको तयारी छ।
प्रचण्डले भने आफूले विश्वासको मत नपाए संविधानको धारा ७६ (३) अनुसार ठूलो दलको हैसियतमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने पक्षमा छन्।


