काठमाडौँ- प्रधानमन्त्रीमा केपी शर्मा ओली नियुक्त भएका छन्।
आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६(२) अनुसार ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका हुन्।
प्रचण्ड नेतृत्वको सरकार ढलेसँगै राष्ट्रपतिले शुक्रबार साँझ नयाँ सरकार गठनका लागि आइतबार बेलुका ५ बजेसम्मको समय दिएर आह्वान गरेका थिए। सो आह्वानलगत्तै ओलीले राष्ट्रपति भवन शीतल निवासमा १६६ सांसदको समर्थनमा शुक्रबार राति नै प्रधानमन्त्रीमा दाबी पेस गरेका थिए।
शुक्रबारको प्रतिनिधि सभा बैठकमा पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत नपाएपछि सोही दिन राष्ट्रपति पौडेलले धारा ७६(२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा प्रधानमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका थिए।
जसपा, जनमत, जसपा नेपाल, लोसपा र नागरिक उन्मुक्ति पार्टी कांग्रेस–एमाले गठबन्धनमै भए पनि ओलीले कांग्रेस र एमालेको मात्रै हस्ताक्षर लिएर प्रधानमन्त्रीमा दाबी पेस गरेका थिए।
प्रधानमन्त्री नियुक्त भएका ओलीको भोलि बिहान ११ बजे शपथको कार्यक्रम तय भएको छ।


