काठमाडौँ- लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट शरतसिंह भण्डारी श्रममन्त्री बन्ने भएका छन्। गत फागुनसम्म प्रचण्ड नेतृत्वको सरकारमा श्रममन्त्री रहेका भण्डारी फेरि मन्त्री बन्न लागेका हुन्।
प्रचण्डले कांग्रेस छाडेर एमालेसँग गठबन्धन गरेपछि रास्वपाका उपसभापति डीपी अर्याल करिब ४ महिना श्रममन्त्री बनेका थिए।
पञ्चायतकालदेखि नै सत्ताको स्वाद चाखेका शरदसिंह भण्डारी बहुदलप्राप्त भएपछि पनि ८ पटक क्याबिनेट मन्त्री र १ पटक राज्यमन्त्री बनिसकेका छन्।
बहुदलअघिदेखि उनी मन्त्री भएको संख्या गणना गर्ने हो भने १२ पटक पुगिसकेको छ। भण्डारीले २०७९ चैत १७ गते मन्त्रीका रूपमा शपथ लिएर १२औँ पटक मन्त्री बनेका थिए। २०८१ असार ३१ गते उनले १३औँ पटक मन्त्रीका रूपमा शपथ लिने तयारी गरेका हुन्।
बहुदलपछि भण्डारी पहिलो पटक २०५२ सालमा शेरबहादुर देउवाको क्याबिनेटमा विनाविभागीय राज्यमन्त्री थिए।
२०५४ सालमा सूर्यबहादुर थापाको क्याबिनेटमा युवा खेलकुद तथा संस्कृतिमन्त्री बनेका उनी २०५६ सालमा गिरिजाप्रसाद कोइरालाको क्याबिनेटमा पनि युवा खेलकुद तथा संस्कृतिमन्त्री नै बनेका थिए।
भण्डारी २०५८ सालमा देउवाको क्याबिनेटमा स्वास्थ्यमन्त्री, २०६६ सालमा माधवकुमार नेपालको क्याबिनेटमा पर्यटन तथा नागरिक उड्डयनमन्त्री बनेका थिए।
२०६८ सालमा बाबुराम भट्टराईको क्याबिनेटमा रक्षामन्त्री बनेका उनी २०७८ सालमा केपी शर्मा ओलीको क्याबिनेटमा ऊर्जा तथा जलस्रोतमन्त्री बनेका थिए।
भण्डारी आबद्ध लोसपाका चार सांसद प्रतिनिधि सभामा छन्।


