काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली साउन ६ गते प्रतिनिधि सभाबाट विश्वासको मत लिने भएका छन्। सत्ता पक्षका प्रमुख सचेतक महेश बर्तौलाका अनुसार प्रधानमन्त्रीले अब बस्ने प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिनेछन्।
राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई गत आइतबार असार ३० गते प्रधानमन्त्री पदमा नियुक्त गरेका थिए। त्यसको भोलिपल्ट ३१ गते सोमबार उनले पद तथा गोपनीयताको शपथ लिएका थिए।
संवैधानिक व्यवस्थाअनुसार प्रधानमन्त्रीले नियुक्त भएको ३० दिनभित्र संसदबाट विश्वासको मत लिनुपर्ने हुन्छ। प्रधानमन्त्री ओलीले सत्ता पक्षका दलका नेता तथा प्रमुख सचेतकहरूसँग छलफल गर्दै ६ गतेका लागि विश्वासको मत लिने समय तय गरेको बर्तौलाले बताए।
साउन ६ गते नै प्रधानमन्त्री ओलीले संसद् बैठकबाट देशवासीको नाममा सम्बोधन गर्ने मिति पनि तय गरेको छ।


