काठमाडौँ- गृहमन्त्री रमेश लेखकसँग नेपालका लागि अमेरिकी राजदूत डिन थम्पसनले भेटवार्ता गरेका छन्।
शुक्रबार सिंहदरवारस्थित गृह मन्त्रालय पुगेर राजदूत थम्पसनले गृहमन्त्री लेखकसँग भेट गरेका हुन्।
भेटमा राजदूत थम्पसनले अमेरिका नेपालको सामाजिक आर्थिक विकासका क्षेत्रमा सहयोग गर्न सधैं इच्छुक रहेको बताएका थिए।
एमसीसी परियोजनाले नेपालको विकास र समृद्धिमा उल्लेखनीय योगदान पुर्याउने विश्वास राजदूत थम्पसनले गरेका थिए।
अपराध नियन्त्रण, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका क्षेत्रमा नेपालसँग सहकार्य र समन्वय गर्न अमेरिका सधैं तत्पर रहेको उनको भनाइ थियो।
जवाफमा गृहमन्त्री रमेश लेखकले नेपाल र अमेरिकाबीच ७० वर्ष पूरानो द्विपक्षीय सम्बन्ध कायम भएको बताउँदै लोकतन्त्र, मानव अधिकार, कानुनी शासनलगायतका विषयमा दुवै देशको साझा धारणा रहेको उल्लेख गरे।


