काठमाडौँ– जनमत पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने निर्णय गरेको छ।
शुक्रबार बसेको पार्टीको बैठकले प्रधानमन्त्री ओलीले मागेको विश्वासको मतको पक्षमा मतदान गर्ने निर्णय गरेको हो।
जनमतका ६ सांसद छन्। प्रधानमन्त्री ओलीले आइतबार विश्वासको मत लिने कार्यसूची छ।
केन्द्र सरकारमा जनमत सहभागी छैन। तर मधेश प्रदेश सरकारको नेतृत्व गरेको छ।
मधेश सरकारमा कांग्रेस, एमाले र लोसपा सहभागी छन्।
उता माओवादी केन्द्र, नेकपा एस र रास्वपाले भने ओलीले मागेको विश्वासको मतको विपक्षमा मत दिने निर्णय गरेका छन्।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बैठकले उक्त निर्णय गरेको हो।
यसअघि असार २६ गते यी तीन दलले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएका थिए। तर दाहालले विश्वासको मत पाउन नसकेर पदमुक्त बने।
माओवादीका ३२, रास्वपाका २१ र नेकपा एसका १० सांसद छन्।
यसपछि नेपाली कांग्रेसको समर्थनमा एमाले अध्यक्ष ओली प्रधानमन्त्रीमा नियुक्त भएका हुन्।
ओलीले साउन ६ गते विश्वासको मत लिने तयारी गरेका छन्।
ओली सरकारमा नेपाली कांग्रेस नेकपा एमाले जसपा र लोसपा सहभागी छन्।
कांग्रेसका ८८, एमालेका ७७ जसपाका ७ र लोसपाका चार सांसद छन्।
जनमतका पनि सांसद थपिँदा ओलीका पक्षमा १८२ सांसद पुगेका छन्।
२७५ सदस्यीय प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्नका लागि १३८ सांसदको समर्थन चाहिन्छ। १८४ सांसदको समर्थन पाए दुई तिहाई बहुमत पुग्छ।


