काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देश विकासको लागि स्थिर सरकार दिन एमालेसँग मिलेको बताएका छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै दुई ठूला दल मिलेर बनेको सरकारले देशमा देखिएको अर्थतन्त्रको समस्या समाधान गर्ने बताए।
‘संविधान प्रारम्भ भएको ८ वर्ष पूरा भएको छ। त्यसको सबल र दुर्बल पक्षको समीक्षा गरेर संविधान संशोधन गर्नु लोकतन्त्रको स्वाभाविक अभ्यास हो,’ उनले भने, ‘संविधान संशोधन गर्न संघीय लोकतान्त्रिक गणतन्त्रका व्यवस्था र समावेशितालाई थप सुदृढ गरिनेछ।’
सदनमा सांसदहरूसँग आफूलाई विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले पनि स्थिर सरकारका लागि कांग्रेससँग सहकार्य गरेको बताएका थिए।
यस्तै सहकारी ठगलाई कारबाही गर्ने र भ्रष्टाचार हुन नदिनका लागि पनि कारबाही गर्ने उनको भनाइ थियो। ‘भ्रष्टाचार गर्दैनौँ, भ्रष्टाचार सहँदैनौँ, कसैलाई भ्रष्टाचार गर्न दिँदैनौँ। भ्रष्टाचार र अख्तियारको दुरुपयोगसँग जोडिएको विषयमा अनुसन्धान हुन्छ। कुनै कालखण्डमा भएको भ्रष्टाचार र जोकोही भ्रष्टाचारी उपर कानूनी कारबाही अघि बढाउँछौँ,’ उनले भने, ‘भ्रष्टाचारी एक दिन कानूनको कठघरमा पुग्छन् भन्ने स्थापित गराउँछौँ। जोसुकै भए पनि सहकारी ठगलाई कारबाही गर्छौँ।’


