काठमाडौँ- नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक झन्डै २५ सय अंकमाथि पुगेको छ।
विगत लामो समयसम्म ‘बियरिस ट्रेन्ड’मा रहेको नेप्से परिसूचक २५ सय अङ्कमाथि पुगेको हो।
यसअघि सोमबार पनि नेप्सेले २५ सय बिन्दु माथिको यात्रा गरेको थियो।
तर बजार बन्द हुने समयमा २४८८ बिन्दुमा झरेको थियो। सोमबार उच्चतम बिन्दु २५०४ पुगेको थियो।
यो समाचार तयार पार्दाको समय (मंगलबार दिउँसो १२:५७ बजे) नेप्से २५३३ बिन्दुमा छ। अहिलेसम्म आज मात्रै ६ अर्ब ८३ करोडको कारोबार भइसकेको छ।
सोमबारको तुलनामा ४५ अंक बढेर नेप्सेले यो उचाइ बनाएको हो।
सोमबारअघि २०७८ चैत अन्तिममा २५ सय अङ्कको बिन्दुमाथि थियो। त्यसपछि निरन्तर घट्दै परिसूचक १८१९ अङ्कसम्म झरेको थियो ।
दुई ठुला राजनीतिक दल नेपाली कांग्रेस र नेकपा एमालेको सत्ता साझेदारीसँगै नेप्से परिसूचक उकालो लाग्न थालेको थियो।


