काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक आज बस्दै छ। बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय आलोनगरमा बस्नेछ। बैठकमा केन्द्रीय कमिटीलाई पूर्णता दिने बारेमा छलफल हुनेछ।
केन्द्रीय सदस्यका लागि प्रदेशहरूले पठाएका नाममा अध्यक्ष माधव नेपाल, सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल, नेता प्रमेश हमाललगायत नेताहरूले छनोट गरेर केन्द्रीय कमिटी बैठकमा नामहरू पेस गर्ने बताइएको छ।
यसअघि असार २१ गते सकिएको राष्ट्रिय महाधिवेशनमा अध्यक्ष, सम्मानित नेता र महासचिवसहित ९३ सदस्यीय केन्द्रीय कमिटी घोषणा भए पनि बाँकी केन्द्रीय सदस्य १० दिनभित्र केन्द्रीय कमिटीलाई पूर्णता दिने निर्णय भएको थियो।
साथै पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमबारे पनि बैठकमा छलफल हुने बताइएको छ।


