काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले सरकारबाट हटेपछि जनतामा जाने आधार तयार भएको बताएका छन्।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टीको पदाधिकारी बैठकलाई सम्बोधन गर्दै उनले राम्रो काम गर्दागर्दै सरकारबाट बाहिरिएपछि यही विषय उठाएर जनतामा जाने आधार बनेको बताएका हुन्।
पार्टी प्रवक्ता अग्नी सापकोटाले बैठकमा भएको कुरा जानकारी गराएका थिए। अध्यक्ष प्रचण्डको भनाइलाई उद्धृत गर्दै उनले भने, ‘यो पहलकदमी लिँदा हामीलाई हटाइएको छ। त्यसलाई हामीले अवसरको रूपमा लिनुपर्छ। जनतामा जाने, हाम्रो वर्गसँगको कडी कहीँ न कहीँ टुटेको थियो। त्यसलाई सुदृढ गर्ने अवसर प्राप्त भएको छ।’
आजको बैठकमा ६ जनाले धारणा राखेको उनले बताए। बैठक आइतबारसम्म लम्बिने तर्फ सँगकेत गर्दै उनले भने, ‘आज ६ जनाले आफ्नो कुरा राख्नुभएको छ। सदन र सडकमा प्रभावकारी बनाउनेदेखि संगठन र जनपरिचालनको विषयमा पनि छलफल भएको छ। अब हामीले अभियान चलाउँछौँ। यसले मार्गचित्र तयार परेपछि स्थायी कमिटी र केन्द्रीय समितिले आधार तयार गर्छ।’
आजको बैठकमा अध्यक्ष प्रचण्डसहित वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष अग्निप्रसाद सापकोटा, उपमहासचिव वर्षमान पुन, सचिव राम कार्की, हितराज पाण्डे र चक्रपाणि खनालले धारणा राखेका थिए।


