काठमाडौँ- कांग्रेस युवा नेता कुन्दनराज काफ्लेले बागमती प्रदेशमा आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी पाएका छन्।
दोलखा जिल्लाबाट प्रदेश सभामा निर्वाचित काफ्ले काँग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघको राजनीतिक पृष्ठभूमीबाट उदाएका नेता हुन्।
कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका काफ्लेले प्रदेश सरकारमा आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी पाएपछि नेपाल क्लिक्ससँग छोटो प्रतिक्रिया दिँदै भने– ‘मेरा लागि सरकार संरचनामा रहेर काम गर्ने यो पहिलो अवसर हो। यो अवसरलाई शतप्रतिशत जनताको सपनासँग जोडेर हेर्नेछु।’
काफ्ले यसअघि काँग्रेसका तर्फबाट वाग्मती प्रदेशसभाको मुख्य सचेतक थिए।
बागमती प्रदेश सरकारको नेतृत्व पनि काँग्रेसले पाएको छ। काँग्रेस एमाले गठबन्धन पछि यो प्रदेशमा काँग्रेसका बहादुर सिंह लामा मुख्यमन्त्री चयन भइसकेका छन्। बागमती प्रदेशमा मुख्यमन्त्रीबाहेक १२ वटा मात्र मन्त्रालय भएपनि मन्त्री भने १३ जनालाई बनाइएको छ। त्यहाँ १४ सदस्यीय मन्त्रिपरिषद् बनेको छ।
मन्त्रीलाई दिने मन्त्रालय नपुगेपछि मुख्यमन्त्री बहादुरसिंह लामाले एक जनालाई जिम्मेवारी पछि तोक्ने भनेर विना विभागीय मन्त्री बनाएका छन्।
मन्त्रीमा शपथ लिएर पनि मन्त्रालय भने नपाउने नेता बनेका छन् मदुकुमार श्रेष्ठ।
प्रकाश श्रेष्ठ कृषि तथा पशुपन्छी विकास, अमनकुमार मास्के भौतिक पूर्वाधार, किरण थापामगर स्वास्थ्य मन्त्रालयमा मन्त्री बनेर गएका छन्।
सिलवाल वन तथा वातावरणमन्त्री बन्दा प्रेमभक्त महर्जन श्रम रोजगार तथा यातायात मन्त्री बनेका छन्।
शुकमाया तामाङले उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय पाउँदा हरिप्रभा खड्गीले सामाजिक विकास मन्त्रालय र सुरजचन्द्र लामिछानलेले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी पाएका छन्।
यस्तै श्यामबहादुर खड्काले खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय पाएँदा मीनकृष्ण महर्जनले युवा तथा खेलकुद मन्त्रालय पाए। विमल ठकुरीलाई संस्कृति पर्यटन तथा सहकारीमन्त्री बनाइएको छ।


