काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचार प्रकरणको फाइल खोलेका आधारमा सरकार ढालियो भन्ने आरोप निराधार रहेको जिकिर गरेका छन्।
आइतबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै शर्माले यस्तो बताएका हुन्। निवर्तमान गृहमन्त्री रवि लामिछानले फाइल खोलेका आधारमा सरकार ढालियो भन्ने भ्रम छर्न खोजेको उनको जिकिर थियो।
लामिछाने गृहमन्त्री हुँदा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाविरुद्धको फाइल मात्र खोलिएको तर त्यो पनि निराधार पक्राउ गरिएको पुष्टि भएको धारणा उनको थियो।
शर्माले विभिन्न प्रकरणको अनुसन्धानलाई अघि बढाउने जिम्मेवारी नयाँ गृहमन्त्रीलाई आएको भन्दै स्टन्ट, अनुग्रह र पूर्वाग्रहमुक्त भएर अनुसन्धान गर्न सुझाव दिए।
नक्कली भुटानी शरणार्थी प्रकरण, गिरीबन्धु टी-इस्टेट प्रकरणमा पनि छानबिन हुनुपर्ने र त्यसमा मुछिएकालाई छुट दिन नहुने उनको भनाइ थियो।


