काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले आफूहरूमाथि हिलो छ्याप्ने काम भइरहेको जिकिर गरेको छ।
प्रचण्डका स्वकीय सचिव रमेश मल्लले आइतबार विज्ञप्ति जारी गर्दै यस्तो दाबी गरेका हुन्। यसको प्रयास प्रधानमन्त्री केपी शर्मा ओलीबाट नै सुरु भएको समेत प्रचण्डको सचिवालयको आरोप छ।
‘हामीमाथि मिथ्या आरोपमार्फत भावनात्मक सद्भाव बटुल्ने र हिलो छ्याप्ने कोसिस गरिएको छ,’ मल्लको विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्री (केपी शर्मा ओली)बाटै उक्त विषयलाई विषयान्तर गर्ने, ओहोदाको ख्याल नगरी भ्रामक पोस्ट गर्ने गरेको देख्दा अचम्म लागेको छ।’
‘गणेश राईसहित ९ जना कम्प्युटर अपरेटरलाई कन्सल्टेन्सी सर्भिसमार्फत ३ महिना व्यवस्थापन गर्ने र दीर्घकालीन रूपमा छोटो गरेर दरबन्दी सिर्जना गरी व्यवस्थापन गर्ने सहमति भएको हो,’ मल्लले भनेका छन्, ‘यदि यो कुरा कसैले गलत भन्छ भने छलफलको रेकर्ड सुरक्षित छ। आक्समिकतामा हामी सरकारबाट बाहिरियौ, यसको व्यवस्थापन गर्ने दायित्व सरकारको हो। यसमा नौटंकी गर्नुको कुनै अर्थ छैन।’
प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयबाटै कर्मचारी प्रशासनमा सुशासन सुरु गर्ने त्यसको लागि प्रधानमन्त्री कार्यालय आराम गर्ने थलो नबनाई सेन्टर फर एक्सिलेन्स बनाउने उद्देश्यसहित प्रधानमन्त्री कार्यालयको संगठन तथा व्यवस्थापन सर्भे गर्ने क्रममा राई हटेको प्रधानमन्त्री कार्यालयको दाबी छ।


