काठमाडौँ- प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आफ्नो स्वास्थ्यले साथ दिएसम्म पार्टीको बैठक नगर्ने घोषणा गरेका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत उनले यस्तो घोषणा गरेका हुन्।
प्रधानमन्त्रीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मेरो स्वास्थ्य अवस्थाले साथ दिएसम्म सरकारी निवास बालुवाटारमा पार्टीको बैठक नराख्ने जानकारी गराउँछु। आज हाम्रो पार्टीको सचिवालय बैठक छ। मनोहरा खोलामा आएको बाढीको डुबानले बैठक पार्टी कार्यालयमा बस्न नसक्ने भएका कारण यसपटक बैठक अन्यत्र राखिएको छ।’
एमालेका अनुसार बैठक काठमाडौँको सिंहदरबार अगाडिको हनुमानस्थानस्थित होटेल बसेरामा बिहान ११ बजे बस्ने छ।
बैठकमा केन्द्रीय नेताहरूको कार्यविभाजन र समसायिक विषयमा छलफल हुने पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए। गत असार २६ गतेको सचिवालय बैठकले पार्टीका केन्द्रीय नेताहरुको कार्यविभाजन हेरफेरको निर्णय गरेको थियो।
एमालेले अध्यक्ष केपी शर्मा ओलीबाहेकका लागि मात्र लागू हुने गरी पार्टीमा एक व्यक्ति एक पद नीति कार्यान्वयन गर्ने बताउँदै आएको छ। ओलीबाहेक राजकीय जिम्मेवारी पाएका अन्यलाई दोहोरो जिम्मेवारी नदिने एमालेको तयारी छ।


