काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक आज केन्द्रीय कार्यालयमा बस्ने भएको छ।
पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको संयोजकत्वमा गठित कार्यदलले सम्पन्न गरेको कार्यसम्पादनको समीक्षा तथा केन्द्रीय कमिटीलाई पूर्णता दिन बैठक आह्वान गरिएको केन्द्रीय सदस्य सोमप्रसाद पाण्डेयले जानकारी दिए।
विधानअनुसार बनाइएको ‘क्लष्टर’का आधारमा कार्यदलले केन्द्रीय सदस्यको नाम प्रस्ताव गर्ने बैठकमा प्रस्तावित ती नामलाई केन्द्रीय कमिटीले अनुमोदन गर्ने जनाइएको छ।
पार्टीमा २९९ सदस्यीय कार्यसमिति तथा २१ पदाधिकारीको व्यवस्था गरिएको छ। हाल अध्यक्ष, सम्मानित नेता र महासचिवसहित तीन पदाधिकारी, ९० केन्द्रीय सदस्य रहेको केन्द्रीय कमिटीमा २०६ केन्द्रीय सदस्य पद रिक्त छ।
सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाल सदस्य रहेको कार्यदललाई पार्टीका सातै प्रदेशले केन्द्रमा पठाएको सिफारिसका आधारमा नेताहरूको मूल्याङ्कन गरी केन्द्रीय सदस्यको नामावली तयार भइसकेको बताइएको छ।
पार्टीमा केन्द्रीय सदस्यका लागि आकाङ्क्षी धेरै भएपछि नेताहरूको योगदान, कार्यक्षमता तथा भूगोल, क्षेत्र तथा सन्तुलन मिलाएर मनोनीत गरिने नेता पाण्डेयले जानकारी दिए। बागमतीबाट सबैभन्दा धेरै र गण्डकी प्रदेशमा सबैभन्दा थोरै केन्द्रीय सदस्य मनोनीत गरिने जनाइएको छ। केन्द्रीय कमिटीले पूर्णता पाएपछि पदाधिकारी छनोट गरिने छ।
मुलुकको समसामयिक राजनीतिक विषयवस्तुमा समीक्षा गर्ने बैठकले पार्टीको भावी कार्ययोजनाबारे छलफल गर्ने जनाइएको छ।
नेकपा एकीकृत समाजवादीले गत असार १६ गते काठमाडौँमा १०औँ महाधिवेशन उद्घाटन गर्यो। महाधिवेशन उद्घाटन गरेको १ महिना पुरा भइसकेको छ। असार २० गते ३ जना पदाधिकारी र ९३ जना केन्द्रीय सदस्य चयन गरेर महाधिवेशन सकियो ।
महाधिवेशन सकिएपछि १० दिनमा केन्द्रीय कमिटीलाई पूर्णता दिने बचन दिए पनि अझै केन्द्रीय कमिटीले पूर्णता पाउन सकेको छैन्। अध्यक्षमा माधवकुमार नेपाल र घनश्याम भुसाल लड्ने तयारी थियो। तर, नेपालले सुरुबाट नै सर्वसम्मतको अडान कायम राखे।अन्ततः महाधिवेशनले सर्वसम्मत अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाललाई चयन गर्यो। हलबाटै ९३ जना केन्द्रीय सदस्य चयन गर्यो।
२१ जना पदाधिकारी विधानमा नै तोकेकाले पुरानैलाई दोहोर्याउने तयारी भएको भन्दै युवाहरूले आपत्ति जनाएका थिए। युवाहरू भने २१ जना पदाधिकारी र वरिष्ठ नेताहरू भनेर विधानलाई संशोधन गरेर भए पनि युवाहरूलाई अवसर दिनुपर्ने माग गरिरहेका छन्।
वरिष्ठ उपाध्यक्षमा दुई जनाको दाबी छ। निवर्तमान उपाध्यक्षद्वय बेदुराम भुसाल र राजेन्द्र पाण्डेले वरिष्ठ उपाध्यक्षमा दाबी गरिरहेका छन्। उपाध्यक्षमा दाबी गर्ने नेताहरूमा पूर्वउपमहासचिवहरू रहेको एक पूर्वपदाधिकारीले बताए। ती पदाधिकारीले भने, ‘उपमहासचिवहरू उपाध्यक्ष हुने लाइनमा छन्। पहिला नै उपाध्यक्षहरू धेरै छन्। मिलाउन पनि समस्या छ। युवाहरू उपमहासचिव र सचिवमा दाबेदार छन्।’
उपाध्यक्षमा जयन्ती राई, प्रकाश ज्वाला, जगन्नाथ खतिवडा, विजय पौडेल, गंगालाल तुलाधर र जीवनराम श्रेष्ठको दाबी छ।
उपमहासचिवमा उम्मेदवारी दिने तयारी गरिरहेका युवाहरूमा रामकुमारी झाँक्री, नरेशकुमार शाही, गरिमा शाह, राजेन्द्र राई र दिलुकुमारी पन्त छन्। सचिवमा दीर्घ सोडारी, अशेष घिमिरे, सुदेश पराजुली, मोहन गौतम, सोमप्रसाद पाण्डे, मेटमणि चौधरी, अब्दुल हुसेन खान, लक्ष्मण बीसी र रामकुमार भट्टराई रहेका छन्।
जबकि पहिला नै धेरै उपाध्यक्ष छन् । जसमा घनेन्द्र बस्नेत, धर्मनाथ साह, केशवलाल श्रेष्ठ र परमेश हमाल छन्। युवाहरूलाई समेट्न केही पुराना नेताहरूलाई वरिष्ठ नेतामा राख्नुपर्ने सचिवमा उम्मेदवारी दिने तयारी गरेका एक युवा नेता बताउँछन्।


