काठमाडौँ- सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबादुर सोडारीले आज प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन्। उनले विश्वासको मत लिन लागे पनि सत्ता जोगिन कठिन छ।
यस अघि भौतिक पूर्वाधार विकास मन्त्री कैलाश चौधरीले पदबाट राजीनामा दिएका छन्। वैशाख ६ गते मुख्यमन्त्रीको शपथ लिएका सोडारीले सोही दिन भौतिक पूर्वाधार विकास मन्त्रीमा चौधरीलाई नियुक्त गरेका थिए। २० असारमा अल्पमतमा परेका सोडारीले आज विश्वासको मत लिन लागेका हुन्।
उनले विश्वासको मत लिने प्रयोजनका लागि बुधबार नै प्रदेशसभामा पत्र पठाइसकेका छन्। सोहीअनुसार आज बस्ने प्रदेशसभाबाट उनले विश्वासको मत लिन लागेका हुन्।
विश्वासको मत लिन लागे पनि उनी नेतृत्वको सरकार ढल्ने निश्चित जस्तै देखिएको छ। केन्द्रमा सत्ता समीकरणमा आएको फेरबदलको प्रभाव प्रदेशमा पर्दा सोडारी नेतृत्वको सरकार संकटमा परेको हो।
एमालेले सोडारीलाई दिएको समर्थन फिर्ता लिएसँगै उनी नेतृत्वको सरकार २० असारमा अल्पमतमा परेको हो। उनलाई अब आफ्नो पार्टी एकीकृत समाजवादीका ४ र माओवादी केन्द्रका १० (सभामुखबाहेक) को मात्र समर्थन छ। त्यस्तै एक जना स्वतन्त्र सांसदको समर्थन पनि उनले पाउने सम्भावना देखिएको छ।
यसरी हेर्दा अहिलेसम्म उनको पक्षमा जम्मा १५ सांसद पुग्न सक्ने छन्। तर, ५३ सांसद रहेको प्रदेशसभामा उनले विश्वासको मत पाउन कम्तिमा २७ सांसदको आवश्यकता पर्दछ। यता कांग्रेसका १८ र एमालेका ११ सांसद भने उनको विपक्षमा देखिएका छन्। यो संसदीय अंकगणितका कारण सोडारी नेतृत्वको सरकार ढल्ने लगभग पक्कापक्की छ।
एमालेले समर्थन फिर्ता लिएसँगै अल्पमतमा परेका सोडारीले राजीनामा दिन आनाकानी गरिरहेका थिए। विपक्षी दलहरूले उनलाई यसअघि नै राजीनामा दिन दबाब दिए पनि उनले संवैधानिक व्यवस्था देखाउँदै दिएका थिएनन्। संविधानमा कुनै दलले सरकारलाई दिएको समर्थन फिर्ता लिए त्यसको १ महिनासम्म विश्वासको मत लिन समय दिएको छ।


