काठमाडौँ- कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत लिने भएका छन्।
कँडेलले साउन २१ गते सोमबार संसद्बाट विश्वासको मत लिने भएका हुन्। त्यसका लागि उनले प्रदेशसभा सचिवालयमा पत्र दर्ता गराइसकेको प्रदेशसभा सचिवालयले जनाएको छ। कँडेलले शनिबार पत्र दर्ता गराएका हुन्।
कँडेलले संविधानको धारा १८८ को उपधारा (२) बमोजिम विश्वासको मत लिनेछन्। कँडेलले विश्वासको मत लिन लागेको यो दोस्रो पटक हो। पहिलोपटक उनले गत वैशाख १३ गते पहिलो पटक संसद्बाट विश्वासको मत पाएका थिए।
तर केन्द्रमा सत्ता समीकरण बदलिएसँगै कर्णालीका नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएको छ। कँडेलले अब नेपाली कांग्रेसको समर्थनमा सरकार पुनर्गठन गर्ने तयारी गरेका छन्।
शुक्रबार कांग्रेसकातर्फबाट चार जना मन्त्रीको नाम सिफारिस भएपनि कँडेलले शपथ गराएका छैनन। सम्भवतः आइतबार उनीहरुको शपथ हुने छ भने सोमबार विश्वासको मत लिने तयारी कँडेलको छ।


