सुदूरपश्चिम- प्रदेशमा आज नयाँ सरकार गठन हुँदै छ। शुक्रवार मुख्यमन्त्री दीर्घ सोडारीले राजीनामा दिएपछि प्रदेश प्रमुख नजिर मियाँले आइतबार साँझ ५ बजेसम्मको लागि नयाँ सरकार गठनको समय दिएका थिए।
केन्द्रमा कांग्रेस–एमालेको समीकरणमा सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कांग्रेसले पाउने सहमति भएको थियो। सोही अनुसार आज काँग्रेसले मुख्यमन्त्रीमा दाबी पेस गर्ने छ। उक्त दामीमा एमालेले पनि समर्थन गर्ने छ।
कांग्रेसको शीर्ष तहमा भएको समझदारीअनुसार प्रदेश प्रमुखले दिएको समयभित्र शाहले मुख्यमन्त्री दाबी पेस गर्ने तयारी गरेका छन्। यसअघि मुख्यमन्त्री भइसकेका शाहले लामो समय काम गर्न नपाएको भन्दै अहिले उनकै नेतृत्वमा सरकार गठन गर्ने समझदारी बनेको हो।
सुदूरपश्चिम प्रदेशमा ५३ जना प्रदेश सभा सदस्य छन्। मुख्यमन्त्रीलाई बहुमत पुराउन २७ सांसद आवश्यक पर्छ। यहाँ कांग्रेसका १८ र एमालेका ११ सांसद छन्। यी दुई दल मात्रै मिल्दा पनि बहुमत पुग्छ। आज साँझ सम्म यी दुई दल बाहेक नागरिक उन्मुक्ति पार्टीले पनि समर्थन गर्ने जनाइएको छ।
मुख्यमन्त्रीमा काङ्ग्रेसबाट तीन जनाको दाबी रहे पनि केन्द्रमा भएको छलफलबाट अरू दुई आकाङ्क्षी प्रकाश देउवा र बहादुर सिंह थापा पनि शाहलाई मुख्यमन्त्री बनाउन सहमत भइसकेका छन्। कांग्रेस सभापति शेरबहादुर देउवाले शाहलाई मुख्यमन्त्री बनाउने गरी तयारी अगाडी बढाउन निर्देशन दिइसकेका छन्।
कांग्रेसका शाह दोस्रोपटक सुदूरपश्चिमको पाचौं मुख्यमन्त्री बन्ने भएका छन्। राजनीतिक समीकरण फेरिएपछि गत २२ चैतमा पदबाट राजीनामा दिएका शाहले १४ महिना प्रदेश सरकारको नेतृत्व गरेका थिए।
पार्टी सभापति देउवाले पूर्वभौतिक पूर्वाधार विकासमन्त्री समेत रहेका भतिज प्रकाश देउवालाई मुख्यमन्त्री बनाउन खोजेका थिए तर पत्नि आरजु देउवालाई परराष्ट्र मन्त्री बनाएका बेला भतिजालाई मुख्यमन्त्री बनाउँदा राम्रो सन्देश नजाने र परिवारवादको आरोप खेप्ने डरले शाहलाई नै दोहोर्याउन निर्देशन दिएका हुन्।
कांग्रेसले आज ११ बजे संसदीय दलको बैठक आह्वान गरेको छ ।उक्त बैठकमा यस विषयमा ठोस निर्णय हुने कांग्रेस नेताहरू बताउँछन्। संसदीय दलको बैठकले सरकारमा सहभागी हुने विषयमा टुङ्गो लगाउने जनाइएको छ। उक्त बैठकले मन्त्रीहरूको नाम पनि टुङ्गो लगाउने छ। कांग्रेसबाट नयाँ अनुहार मन्त्रीमा समावेश हुने सम्भावना रहेको छ।
यता एमालेले पनि सरकारमा कसलाई पठाउने भन्ने कुनै निर्णय गरेको छैन। दीर्घ सोडारी नेतृत्वको सरकारमा एमालेबाट सुरेन्द्र पाल, वीर बहादुर थापा र हिरा सार्की मन्त्री थिए। पुराना तीन जना मन्त्रीमध्ये केही दोहोरिने र केही नदोहोरिने सम्भावना रहेको एमाले स्रोतको भनाइ छ। पुराना केही मन्त्री नयाँ सरकारमा सहभागी नहुँदा केही नयाँ मन्त्री समावेश हुने सम्भावना रहेको छ।
नागरिक उन्मुक्ति पार्टीले पनि आफ्नो भागमा पर्ने मन्त्रीको नाम टुङ्गो लगाइसकेको छ। नाउपाबाट लक्ष्मण किशोर चौधरी मन्त्री बन्ने छन्। आज पाँच बजेभित्र मुख्यमन्त्रीमा दाबी पेश गर्ने र आजै मन्त्रीमण्डल विस्तार गर्ने तयारी गरिएको छ।
पहिलो पाँच वर्ष माओवादीका त्रिलोचन भट्टले पुरै कार्यकाल मुख्यमन्त्री चलाएको सुदूरपश्चिम प्रदेशको दोस्रो कार्यकालमा भने अस्थिरताको चरम रूप देखिएको छ।
दोस्रो कार्यकालको दोस्रो वर्ष नपुग्दै आज चौथो मुख्यमन्त्री नियुक्त हुँदै छन्। २०७९ पौष २७ गते एमाले, माओवादी, नागरिक उन्मुक्तिको समर्थनमा एमाले संसदीय दलका नेता राजेन्द्र सिंह रावल मुख्यमन्त्री नियुक्त भएका थिए।
उनीसँगै एमालेकै सन्तोष शर्मा थापा र माओवादीका खगराज भट्ट बिना विभागीय मन्त्री बने। तर रावल सरकार एक महिना भन्दा बढी टिक्न सकेन। उनले विश्वासको मत नपाएपछि सरकार ढल्यो।
त्यसपछि ठुलो दलको हैसियतले कांग्रेस संसदीय दलका नेता कमल बहादुर शाह माघ २६ गते मुख्यमन्त्री बने।
यता केन्द्रमा फेरी राजनीतिक फेरियो। कांग्रेस बाहिरिएर एमाले भित्रिँदा यता प्रदेशका काँग्रेसका मुख्यमन्त्री पद जोखिममा परेको थियो। एमाले माओवादी र नेकपा एकीकृत समाजवादीले समर्थन फिर्ता लिएपछि पनि एक महिना सम्म सरकार जोगाउने उनले ठुलै कसरत गरे। तर सरकार नजोगिने भएपछि मुख्यमन्त्री भएको १४ महिना पछि चैत्र २२ गते शाहले राजीनामा दिए।
त्यसपछि एमाले, माओवादी, उन्मुक्तिका दुई सांसद तथा स्वतन्त्र सांसदको समर्थनमा वैशाख ६ गते नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारी मुख्यमन्त्रीमा नियुक्त भए।
केन्द्रमा सत्ता समीकरण फेरिँदा फेरि सुदूरपश्चिम सरकारको आयु छोटिएको हो। अल्पमतमा परेको ३० औँ दिनमा शुक्रवार मात्रै मुख्यमन्त्री सोडारीले राजीनामा दिए। उनको राजीनामा पनि नयाँ सरकारको गठन प्रक्रिया सुरु भयो र आज कांग्रेसको नेतृत्वमा नयाँ सरकार बन्दै छ।


