काठमाडौं- नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले दुई ठुला दल एकै ठाउँमा उभिएकाले उनीहरुलाई गल्ती गर्ने छुट नभएको बताएका छन्
वीपी कोइरालाको ४२औँ स्मृति दिवसको अवसरमा वीपी स्मृति सामुदायिक सहकारी अस्पतालले काठमाडौंमा आयोजना गरेको स्मृति सभालाई सम्बोधन गर्दै कोइरालाले अब जनताले सुशासनको अनुभुति हुनेगरि सरकारले काम गर्नुपर्ने बताएका हुन्।
अहिलेको गठबन्धनले सुशासन र राजनीतिक स्थायित्व दिन्छ भन्ने सन्देश दिएकोले कांग्रेस र एमाले सचेत हुनुपर्नेमा पनि उनको भनाइ थियो।
देशको अहिलेको परिस्थिति अत्यन्तै खराब रहेको बताउँदै कोइरालाले भने, ‘अब पनि दुई ठुला दलले गल्ती गरे र जनताको भावना बुझ्न सकेनन् भने देश नै कोल्याप्स गर्न पनि सक्छ।’
आफ्नो पार्टी सरकारमा रहँदा सरकारका सबै काम ठिक छन् भनेर चुप लाग्न नुहुने उनको भनाइ थियो। उनले मन्त्रीहरुले गलत काम गरे उनीहरुको आलोचना र विरोध गर्न कार्यकर्तालाई आग्रह समेत गरे।
‘जनभावना विरोधी काम गर्ने छुट न प्रधानमन्त्रीलाई छ न मन्त्रीलाई नै,’ उनले भने। कोइरालाले वीपी कोइरालाको सिद्धान्त अनुसार कांग्रेसका नेता एवं कार्यकर्ता हिड्न नसकेको बताए।
‘हिजो पश्चिमको साथीलाई चोट लाग्दा पूर्वको साथीलाई दुख्थ्यो। पूर्वको साथीको पिडाले पश्चिमको साथीलाई पोल्थ्यो। हामी आफूलाई बीपीका अनुयायी भन्छौं। तर स्वार्थमा परेर आफू-आफूमै लड्छौं। बीपीले त यस्तो कहिल्यै सिकाउनु भएन। हिजोको त्यो आत्मीयता कहाँ गयो,’ कोइरालाले प्रश्न गरे।


