काठमाडौँ- सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयक (टीआरसी)मा सहमति जुटाउन गठित सहजीकरण संयन्त्रले सहमति जुटाएर तयार पारेको प्रतिवेदन आज शीर्ष नेतालाई बुझाउने भएको छ।
कार्यदल सदस्यहरूले सहमतिको लिखित प्रतिवेदन एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बुधबार बुझाउने तय भएको सत्तारुढ दलका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए।
आज बिहान ११ बजे तीन दलका शीर्ष नेतालाई संयुक्त रूपमा प्रतिवेदन बुझाउने कार्यक्रम छ,’ बर्तौलाको भनाइ छ। नेता बर्तौलाका अनुसार शीर्ष नेताले प्रतिवेदन अध्ययन गरेर आवश्यक सुझाव दिएपछि समितिमार्फत अघि बढाएर जारी संसद् अधिवेशनबाटै विधेयक पारित गर्ने तयारी छ।
उक्त विधेयकमा सहमति जुटाउन एमालेबाट बर्तौला, कांग्रेसबाट गृहमन्त्री समेत रहेका नेता रमेश लेखक र माओवादी केन्द्रका नेता जनार्दन शर्मा रहेको कार्यदल गठन भएको थियो।
यसअघि साउन १७ गते बसेको टीआरसी कार्यदलको बैठकमा नेपाली काँग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच सहमति जुटेको हो।
द्वन्द्वकालमा भएका हत्यालाई परिभाषित गर्नेलगायतका विषयमा दलहरूबीच सहमति जुटेको हो। त्यस्तै मिलापत्र वा क्षमादानका लागि पीडितको सहमति अनिवार्य रहने भन्ने विषयमा पनि दलहरू एकमत भएका छन्।
त्यस्तै द्वन्द्वमा संलग्न हुँदा मारिएका सुरक्षाकर्मीलाई पीडितकै दर्जा दिइने पनि सहमति भएको छ। बहिर्गमित लडाकुलाई पनि द्वन्द्व प्रभावितका रूपमा परिपुरण गर्ने कुरामा सहमति भएको थियो।


