काठमाडौँ- अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी र पहिरोलगायतका विपद्मापरी बुधबार दिउँसोसम्म एक सय ६७ जनाको मृत्यु भएको छ।
केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीका अनुसार बाढी, पहिरोलगायत विपद्मा परी काठमाडौँ उपत्यकामा ३ जना, कोशी प्रदेशमा २५ जना, मधेश प्रदेशमा ६ जना, बागमती प्रदेशमा ३० जना, गण्डकी प्रदेशमा ५२ जना, लुम्बिनी प्रदेशमा ३३ जना, कर्णाली प्रदेशमा ८ जना र सुदूरपश्चिम प्रदेशमा १० जनागरी जम्मा १६७ जनाको मृत्यु भएको हो।
काठमाडौँ उपत्यकामा ११ जना, कोशी प्रदेशमा ३७ जना, मधेस प्रदेशमा १० जना, बागमती प्रदेशमा १९ जना, गण्डकी प्रदेशमा ४४ जना, लुम्बिनी प्रदेशमा १३ जना, कर्णाली प्रदेशमा ५१ जना र सुदूरपश्चिम प्रदेशमा १४ जनागरी जम्मा एक सय ९९ जना घाइते भएका छन्।
बाढी, पहिरामा परी काठमाडौँ उपत्यकामा २८ जना, कोशी प्रदेशमा ४९ जना, बागमती प्रदेशमा १२ जना, गण्डकी प्रदेशमा १४ जना, कर्णाली प्रदेशमा दुई जना र सुदूरपश्चिम प्रदेशमा पाँच जनागरी जम्मा एक सय १० जनाको उद्धार गरिएको प्रवक्ता कार्कीले बताए।
‘बाढी र पहिरोमापरी कोशी प्रदेशमा दुई जना, बागमती प्रदेशमा ४२ जना, गण्डकी प्रदेशमा चार जना, कर्णाली प्रदेशमा एक जना र सुदूरपश्चिम प्रदेशमा एक जनागरी ५० जना बेपत्ता भएका छन्। बेपत्ताको खोजीकार्य जारी छ,’ उनले भने।
बाढीको कारण जम्मा तीन सय ८४ घर डुबानमा परेका छन्। बाढी पहिरोले दुई सय ६८ वटा घर, एक सय वटा गोठ, ४३ वटा पुल, दुई वटा विद्यालय र दुई वटा सरकारी कार्यालयमा क्षति पुगेको प्रहरीले जनाएको छ।
बाढी पहिरोले आज दिउँसोसम्म सात सय ६३ वटा पशुचौपायाको मृत्यु भएको छ। उक्त अवधिमा विपद्का घटनाबाट चार हजार दुई सय ७२ घरपरिवार विस्थापित भएका प्रवक्ता कार्कीले जानकारी दिए।


