काठमाडौँ- बालबालिकाको पोषणका लागि स्थानीय खानामा जोड दिनुपर्ने विभिन्न क्षेत्रका अगुवाहरुले बताएका छन्। कोदो, फापर, जुनेलो, सागपात, फलफुल र अन्य स्थानीय जातका रैथाने बाली नै बालबालिकाको पोषणका लागि उपयोगी हुने भएकाले यसको प्रयोगमा जोड दिनुपर्ने उनीहरूको भनाइ छ।
वल्र्ड भिजन इन्टरनेश्नल नेपालसँगको सहकार्यमा सामुदायिक रेडियो प्रसारक सङ्घ अकोरावले काठमाडौँमा आयोजना गरेको कार्यक्रमका सहभागी सरोकारवालाले बालबालिकाको पोषणमा प्याकेट र बोतलका तयारी खानेकुराले नकारात्मक असर गरेको भन्दै अब स्थानीय उत्पादन र रैथाने बालीको उपभोग बढाउनुपर्ने बताएका हुन्।
राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुलीले बाध्यताका कारण कामकाजी आमाले स्तनपान गराउन नपाएको बताउँदै सरकारले सुत्केरीलाई दिने बिदा नै पर्याप्त नभएको बताए। उनले कामकाजी आमाको बच्चाका लागि कार्यालयमा शिशु हेरचाह केन्द्रको स्थापना अनिवार्य गर्नुपर्ने बताए।
पोषणसँग जोडिएका सबै पक्षका लागि सकरात्मक पहल गर्नुपर्ने बताउँदै उनले रैथाने बाली उत्पादन हुने क्षेत्रमा पनि तयारी खानाको बिगबिगी बढेको पाइएको उनको भनाइ छ। यसबारे सैद्धान्तिक छलफलका साथ साथै काम नै थालिहाल्नुपर्नेमा उनले जोड दिए।
राष्ट्रिय मुस्लिम आयोगका अध्यक्ष समिम मिया अन्सारीले सबैको घरमा तयारी खानाको प्रयोग बढ्दै गएकोले यसतर्फ सचेत हुनुपर्ने बताए। बालबालिकालाई तयारी खानाको स्वाद चखाउने अभिभावक नै भएकाले यस्तो कदमले बालबालिकाको पोषणमा प्रत्यक्ष असर पुग्ने उहाँको भनाइ छ। पोषण सम्बन्धी सचेतना फैलाउन आयोगले पनि पहलकदमी लिने उनले प्रतिबद्धता जनाए।
कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका सचिव मुरारी खरेलले नेपालमा पोषणसम्बन्धी ऐन, कानुन र नीति पर्याप्त भए पनि पूर्ण कार्यान्वयन नभएको बताए। पोषणयुक्त बालीको खेती हुनै छाडेको तर्फ स्मरण गराउँदै उहाँले भएका रैथाने बालीबाट पनि परिकारलाई विविधीकरण गर्नुपर्ने उल्लेख गरे। विद्यालयले प्रदान गरिरहेको दिवा खाजालाई पोषणको दृष्टिकोणबाट मानव अधिकार आयोगले अनुगमन गरिरहेकोसमेत उहाँले जानकारी दिए।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले ६ महिनासम्म पूर्ण स्तनपान गराउने आमाको सङ्ख्या ५६ प्रतिशतमा झरेको जानकारी गराउँदै यो बालबालिकाको स्वास्थ्यका लागि उचित नभएको बताएका थिए।
नेपाल जनसाङ्खिक सर्वेक्षणले हाल ६ देखि ५९ महिनाका बालबालिकामा २५ प्रतिशतलाई पुड्कोपना, ८ प्रतिशतमा ख्याउटेपना, १९ प्रतिशतमा कम तौल, ४३ प्रतिशतमा रक्तअल्पता देखाएको बताउँदै उहाँले यसलाई कम गर्न तीन तहकै सरकार अग्रसर हुनुपर्ने उनको भनाइ छ।
वर्ल्ड भिजनकी निर्देशक उमा थापामगरले हरेक नागरिकका लागि प्रत्यक्ष जोडिएको पोषणको विषयमा अझै पनि पर्याप्त बहश हुन नसकेको भन्दै भर्खरै घोषणा गरिएको ‘इनफ’ अभियानले पोषणका बारेमा पैरवी र चेतना बढाइरहेको बताइन्। कुपोषण दर घटाउन गरिबी पनि मुख्य चुनौति रहेको बताउनुहुँदै स्थानीय खानाको प्रवद्र्धन गर्नुपर्नेमा उहाँले जोड दिइन्।
वर्ल्ड भिजनकै पैरवी तथा अभियान व्यवस्थापक श्याम अधिकारीले विद्यालयमा दिवा खाजाको सुरुवात राम्रो भए पनि यही खाजामा पनि पोषिलो खानालाई जोड दिनुपर्ने बताए।
अनुसन्धानकर्ता दिपेश घिमिरेले पोषण सम्बन्धी नीतिको समीक्षा प्रस्तुत गर्दै नेपालमा तयारी खानाको असर सहरमा भन्दा बढी गाउँमा देखिएको जानकारी दिए।
कार्यक्रममा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव रेशमलाल कँडेलले पोषणका क्षेत्रमा सरकारी तथा गैरसरकारी प्रयास जारी रहे पनि समन्वयको अभावमा दोहोरोपना देखिएको बताए।
राष्ट्रिय बाल अधिकार परिषदका उपाध्यक्ष बम बानियाँले बाल अधिकारको क्षेत्रमा पोषण विशेष अवस्था भएको बताउँदै यसको सचेतनाका लागि धार्मिक गुरुसँगको सहकार्य बढाउनु सकरात्मक भएको उल्लेख गरे।
राष्ट्रिय बाल अधिकार परिषदका सदस्य सचिव इन्द्रादेवी ढकालले बितेको २ दशकको अवधिमा बालबालिकामा न्यून पोषण दर घटे पनि अझै प्राथमिकतामा राख्न जरुरी रहेको बताइन्।
कार्यक्रममा सामुदायिक रेडियो प्रसारक सङ्घ अकोरावका अध्यक्ष अर्जुन गिरीले देशका सम्पूर्ण बालबालिकाको पोषणमा ध्यान दिन सञ्चार माध्यमसँगै धार्मिक गुरु, सामुदायिक वन, विभिन्न समूह, क्लवलगायत परिचालन गर्नुपर्नेमा जोड दिए।


