काठमाडौँ- नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतकसमेत रहेका केन्द्रीय सदस्य श्याम घिमिरेले पार्टीको मूल आदर्शबाट ‘समाजवाद’ शब्द हटाउन प्रस्ताव गरेका छन्।
जारी केन्द्रीय समिति बैठकमा घिमिरेले ‘समाजवाद’ राख्दा कम्युनिस्टजस्तै देखिएको त्यसको फाइदा पनि कम्युनिस्टलाई नै भएको भन्दै उक्त शब्द हटाउन प्रस्ताव गरेका हुन्।
‘संसारका कुनै पनि लोकतान्त्रिक मुलुकले आफूलाई समाजवादी भन्दैनन्। हामी र कम्युनिस्ट पार्टीबीच अन्तर छुट्याउन पनि कांग्रेसले समाजवाद शब्द हटाउनुपर्छ’, घिमिरेले भने, ‘आज बीपी जीवित हुनुभएको भए समाजवादको रटान लगाइरहनुहुन्थ्यो? के हामीले भनेजस्तो स्केन्डेभियन मुलुकहरूले आफूलाई समाजवादी भन्छन् कि, सोसल डेमाेक्रेट?’
नेपाली कांग्रेसले स्थापनाकाल देखिनै राष्ट्रियता, प्रजातन्त्र र समाजवादलाई मूल आदर्श मान्दै आएको छ।


