काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति प्रक्रियासँग सम्बन्धित टीआरसी विधेयक सहमतिका साथ अघि बढेको भन्दै खुसी व्यक्त गरेका छन्।
बुधवार प्रतिनिधिसभा बैठकमा सम्बोधनको सुरुवात गर्दै प्रधानमन्त्री ओलीले केही खुसीका कुरा गर्न र केही विषयमा स्पष्ट पार्न आफूले समय मागेको बताए। टीआरसी विधेयक पनि सहमतिमै अघि बढेको उनको भनाइ छ।
‘हामी द्वन्द्वलाई शान्ति प्रक्रियामा बदल्न आफ्नै हिसाबले अगाडि बढायौँ। यो मौलिक छ। त्यही कारण सकारात्मक ढङ्गले समाधान हुँदै आएको छ’, ओलीले भने, ‘दुनियाँका लागि नमुनाका रूपमा शान्ति प्रक्रिया टुंग्याउँदैछौँ।’
द्वन्द्वको नीति बोकेका समूहलाई शान्ति प्रक्रियामा ल्याएर त्यसका बाँकी काम पूरा गर्न अहिले टीआरसीलाई टुंग्याउन लागिएको बताए। ‘यो शान्तिका पक्षधरका लागि खुसीको विषय हो’, उनले भने, ‘ऐन बनिसकेपछि यस अन्तर्गत आयोगहरू निर्माण गर्नेछौ र आयोगलाई काम गर्न अनुकूल वातावरण बन्नेछ।’
उनले २०१८ मा संयुक्त राष्ट्रसंघमा बोल्दा आफूलाई यतिचाँडो टीआरसीको विषयमा टुंगोमा पुग्लाजस्तो नलागेको बताएको स्मरण गरे। तर त्यतिबेला पनि आफूले महासभामा ‘आफ्नो ठाउँमा आफ्नै उपजको रुपमा शान्ति प्रक्रियालाई अघि बढाएको र टुंगोमा पुर्याउँछौँ’ भनेको स्मरण गरे।
‘हामी छोटो अवधिभित्र नेपालमा द्वन्द्वको अन्तिम किस्ता पनि व्यवस्थापन भइसक्यो भन्ने सन्देश हामी दिन सफल हुनेछौँ’, उनले भने, ‘यसकारण मैले आफ्नो खुसी व्यक्त गर्न खोजेको हुँ।’
लामो समयदेखि अल्झिएको टीआरसी विधेयकमा दलहरूबिच सहमति जुटेपछि मङ्गलवार संसदमा टेबल भएको थियो। बुधबारै विधेयक पारित गर्ने तयारी छ।


