काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले शान्ति प्रक्रिया टुंग्याउन पूर्वराजा ज्ञानेन्द्र शाहको महत्वपूर्ण भूमिका रहेकाले नोबेल पुरस्कारका लागि सिफारिस गर्नुपर्ने बताएका छन्।
टीआरसी विधेयकमाथि संसद्मा भएको छलफलमा भाग लिँदै बुधबार लिङ्देनले यस्तो बताएका हुन्।
शान्ति प्रक्रियामा योगदान दिएबापत पूर्वराजालाई नोबेल पुरस्कारका लागि सिफारिस गर्नुपर्नेको उनको भनाइ छ।
‘यो शान्ति प्रक्रियालाई टुंगोको पुर्याउन राजाको योगदान छैन? आजको दिनमा राजालाई सम्झिनुपर्ने होइन?,’ उनले भने, ‘दलहरुले राजालाई शान्ति प्रक्रियामा योगदान पुर्याएबापत नोबेल पुरस्कारका लागि सिफारिस गर्नुपर्थ्यो।’
दलहरुले बहुमत र मौका पाउनेबित्तिकै राजालाई बिर्सिएको उनको गुनासो छ।


