ललितपुर- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले समुदायले गर्ने सामाजिक काममा सरकारको साथ र सहयोग आवश्यक पर्ने बताएका छन्।
गोदावरी सामुदायिक पुस्तकालय स्रोत केन्द्रद्वारा १७औँ पुस्तकालय दिवस एवम् १५९औँ मोती जयन्तीका अवसरमा आज आयोजित कार्यक्रममा उनले सामाजिक काममा युवापुस्तालाई एकै साथ लिएर हिँड्नुपर्ने बताए।
‘पुस्तकालय बनाउन गर्ने जस्तो सामाजिक काम सहज हैन। यहाँको अग्रजहरुले वातावरण बनाएर पुस्तकालय स्थापना गरेको धन्यवाद भन्न चाहन्छु,’ उनले भने, ‘अहिलेको समयमा सामुदायिक अध्ययन केन्द्रको आवश्यकता अझ धेरै छ, पुस्तकालयले सामुदायिक चेतना जनाउनुपर्ने र यसलाई नयाँ पुस्तालाई जोड्नुपर्ने आवश्यकता छ। सूचनामाथि पहुँच जमाउने भन्दा प्राप्त गरेको सूचनाको विवेचना गर्ने क्षमता हुनुपर्छ।’
विकासको पछिल्लो चरणमा रहेका देशहरूले विकासमा समुदायलाई जोड्न नसकेसम्म विकास नहुने जनाउँदै यसका लागि पुस्तकालय महत्वपूर्ण हुने बताए।
उनले भने ,’पुस्तकालय समुदायको एउटा अंग हो, यसले अरुलाई पनि प्रेरित गर्छ। सामाजिक सञ्जाल र सूचनामा समय बिताउने भन्दा पुस्तकालयमा समय बिताउने कार्यलाई बढी जोड दिनुपर्छ।’
सो अवसरमा गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन गोदावरी नगरपालिकालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउनका लागि सामुदायिक पुस्तकालयले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए।
पुस्तकालयमार्फत साहित्यिक क्षेत्रमा, सामामुदायिक क्षेत्रमा गौरवपूर्ण काम गरेको जनाउँदै उनले रोजगार र तालिमका क्षेत्रमा पुस्तकालयमार्फत उल्लेखनीय काम हुने विश्वास व्यक्त गरे।
स्रोत केन्द्रका अध्यक्ष वरिष्ठकुमार अधिकारीले पुस्तकालयले मानिसको व्यक्तित्व विकासमा योगदान पुर्याउने जनाउँदै पुस्तकालय सिंगो गाउँको सम्पत्ति भएको बताए।


