काठमाडौँ- गायिका समीक्षा अधिकारीले आफूलाई बारम्बार पीडा नदिन नायिका पूजा शर्मासँग आग्रह गरेकी छन्।
मंगलबार फेसबुकमा स्टाटस लेख्दै गायिका अधिकारीले नायिका शर्मासँग उक्त आग्रह गरेकी हुन्।
‘सानालाई माया र ठुलालाई सम्मान गर्ने संस्कार सिकेर आएकी हुँ। हिजो ”तिमि मेरो बहिनी” भनेर आउनुभयो, मैले दिदी भनेँ, मानेँ। अहिले पनि मानेकी छु। मान्छु तर यसरी पिडा नदिनुस् प्लिज,’ समीक्षाले पूजासँग आग्रह गरेकी छन्।
पडकास्टहरुमा गएर आफू न्यायाधीश ठानेर प्रस्तुति नदिन पनि समीक्षाले शर्मालाई सचेत गराएकी छन्। आफ्नो मुद्दाको वास्तविकता कि त आफूलाई थाहा भएको या त पल शाहलाई थाहा भएको भन्दै समीक्षाले शर्मालाई आफैँ जान्नेसुन्ने नबन्न आग्रह गरेकी छन्।
‘अदालत नै पोडकाष्टहरु हुन भने, न्यायधिस नै यी र यस्ता कलाकारहरु हुन भने उतिबेला यतैबाट फैसला गरिदिएको भएपनि हुन्थ्यो नि,’ उनले फेसबुबकमा लेखेकी छन्, ‘सत्य के हो? कि उस्लाई थाहा छ, कि मलाई थाहा छ कि त भगवानलाई थाहा छ।’
समीक्षासँगको विषयलाई लिएर पल शाहमाथि बाराम्बार आक्रमण भइरहेको भन्दै पूजाले पलको बचाउ गरेकी थिइन्। अदालतले पललाई निर्दोष प्रमाणित गरिसकेको भन्दै उनीप्रति टिप्पणी जरुरी नभएको भन्दै पूजाले पडकास्टमा बोलेको कुरा उद्धृत गरेकी छन्। ‘पललाई कसैलाई केही हानिरहन र नाम ट्याग गरिरहन जरुरी पनि छैन। कानुनले नै प्रुफ गरिसकेको चिज हो। कानुनले नै बोलिसकेपछि सकियो,’ उनले भनेकी छन्।
आफूले पललाई माफी दिएको समीक्षाले उल्लेख गरेकी छन्। तर पूजाले भने पलले कुनै गल्ती नै नगरेको र निर्दोष भएर निस्केको अर्थलाग्ने प्रस्तुति दिएपछि समीक्षा आक्रामक भएकी हुन्।
‘के सही? के गलत? छुट्याउन नसक्ने उमेरमा पनि मैले त मायाको तराजुमा आफुलाई जोख्न तयार भएँ। र माफी दिएर सावित गरिदिएँ, समीक्षाले लेखेकी छन्, ‘त्यस यता सबै नर्मल नै चलिरहेका बेला आफै छोरी भएर उमेरले झन्डै १४ वर्ष कान्छी एउटी बहिनीलाई यसरी बारम्बार प्रहार गर्नु राम्रो हो र? यसरी पनि सिनेमा चलाउन खोज्नु सही हो र?’
पल र पूजाको फिल्म ‘रावायण’ भदौ २१ गतेदेखि हलमा लगाउने तयारी भइरहेको छ।


