काठमाडौँ– नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भूसालले ४० करोड रुपैयाँमाथिका भ्रष्टाचारमा ठूला दलहरुबीच सहमति हुने गरेको बताएका छन्।
शनिबार अर्थशास्त्री हरि रोकाले लेखेको पुस्तक ‘वैकल्पिक अर्थतन्त्र’को विमोचन र विमर्श कार्यक्रममा बोल्दै महासचिव भुसालले यस्तो बताएका हुन्।
ठूला भ्रष्टाचारका घटनामा कांग्रेस, एमाले, माओवादीलगायत दलको कुनै न कुनै खालको संलग्नता हुने उनको भनाइ छ। ‘…४० करोडभन्दा ठूला कुनै पनि भ्रष्टाचारका मुद्दाहरुमा राष्ट्रिय सहमति हुन्छ। त्यहाँ कांग्रेस पनि हुन्छ। माओवादी पनि हुन्छ। एमाले पनि हुन्छ। मेरै पार्टी पनि होला। त्यो नभइकन अगाडि बढ्दै बढ्दैन। ठूलाहरुका बीचमा राष्ट्रिय सहमति गरेर तिनले पार्टी पनि सक्छन्। राजनीति पनि सक्छन्’, उनले भने।
अहिले दलहरुले नै घुस खाने मान्छे मात्र उत्पादन गरिरहेको भुसालको भनाइ छ। नेपालमा लोकप्रियतावादले समाजवादतर्फको यात्रा रोकेको उनको जिकिर थियो।


