काठमाडौँ– न्युयोर्कमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री आरजु राणालाई त्यहाँ भएका नेपालीहरूले आयोजना गर्ने भनिएको स्वागत कार्यक्रम स्थगित भएको छ।
आइतबार नेपाली महावाणिज्य दूतावास न्यूयोर्क र अमेरिकामा रहेका नेपाली समुदायको संयुक्त आयोजनामा प्रधानमन्त्री तथा परराष्ट्मन्त्रीलाई स्वागत गर्ने कार्यक्रम तय भएको थियो।
तर सुरक्षा संवेदनशीलताका कारण देखाउँदै कार्यक्रम स्थगित भएको नेपाली महावाणिज्य दूतावास न्यूयोर्कले जारी गरेको सूचनामा उल्लेख गरिएको छ।
न्यूयोर्कमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र पहिचानवादी संघ संगठनहरुले कार्यक्रम स्थलमै विरोध प्रदर्शन गर्ने तयारी गरेको सूचना पाएपछि कार्यक्रम स्थगित गरिएको पाइएको छ।
प्रधानमन्त्रीओली र परराष्ट्रमन्त्री राणा संयुक्त राष्ट्रसंघको महासभामा भाग लिने क्रममा यतिबेला न्युयोर्कमा छन्।
स्वागत कार्यक्रम स्थगित भएकोबारे नेपाली महावाणिज्य दूतावास न्यूयोर्कले दु:ख व्यक्त गर्दै लेखेको छ, ‘सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यू तथा माननीय परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाज्यूको संयुक्त राष्ट्र संघको महासभा, समिट अफ द फ्युचर तथा अन्य साइडलाइन मिटिङहरुमा व्यस्त रहनु परेको र समारोह स्थलको सुरक्षा संवेदनशीलताबारे सम्बन्धित निकायको सुझाव समेतलाई ध्यानमा राखी आज आयोजना हुने वृहत कार्यक्रम स्थगन गरिएको व्यहोरा सबैमा सूचित गरिन्छ।’


