काठमाडौँ- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नख्खुखोलाले बगाएका दुई जनाको उद्धार गर्ने ‘साहसी युवा’ चणिकलाल तामाङलाई सम्मान गरेका छन्। आफ्नै निवास खुमलटारमा बोलाएर प्रचण्डले तामाङलाई सम्मान गरेका हुन्।
तामाङले शनिबार ललितपुर महानगरपालिका २५ सुगम टोलस्थित नख्खु खोलाले बगाएका रौतहटका २२ वर्षीय राजु साह र उनकी दाजुकी छोरी ६ वर्षीया मेघनालाई उद्धार गरेका थिए।
टहराको छानामाथि चढेर गुहार मागिरहेका ४ जनालाई सरकारी निकायले उद्धार गर्न नसकेपछि नख्खु खोलाले उनीहरुलाई बगाएको थियो।
खोलाले बगाएर ३ सय मिटर तल पुर्याएपछि तामाङले उर्लदो भेलमा हाम फालेर दुई जनाको उद्धार गरेका थिए।
उद्धार गरिएका दुवै जनाको हाल पाटन अस्पतालमा उपचार भइरहेको छ।
सँगै बगेका राजका दाजु राजु आफै पौडेल उत्रिएका थिए। राजकी छोरी चार वर्षीया शेर्तु साह बेपत्ता छिन्।
काभ्रेको तेमाल गाउँपालिका-९ चोकटार घर भएका तामाङ माओवादी केन्द्रनिकट सहिद परिवारका सदस्य हुन्।
उनका दाजु तत्कालीन जनयुक्त सेनाका कमाण्डर चन्द्र तामाङले ‘शुक्र’को जनयुद्धका क्रममा सर्लाहीमा सहादत प्राप्त गरेका थिए।


