काठमाडौँ- बुटवलको कालिका मानवज्ञान माध्यमिक विद्यालयका दीपेश भट्टराई (१५ वर्ष) र दीपिका भट्टराई (१५ वर्ष) जुम्ल्याहा दाजु-बहिनी हुन्।
कक्षा १० मा अध्ययनरत उनीहरू देशका नाममा ट्रफी जित्ने सपना लिएर काठमाडौँको यात्रामा थिए।
तर शुक्रबारको पहिरोले उनीहरूलाई मात्र लगेन, आमा सीता भट्टराईलाई पनि लिएर गएको छ।
स्याङ्जा जिल्ला गल्याङ नगरपालिका-३ का स्थायी बसोबासी उनीहरू बुटवलमा पढ्दै थिए।
जुम्ल्याहा दाजु-बहिनी नेपाल एस्ट्रोनोमिकल सोसाइटीले आयोजना गरेको नेसनल एस्ट्रोनोमी ओलम्पियार २०२४ का लागि बंगलादेश जाने तयारीमा थिए।
उनीहरू पहिलो चरणमा छनोट भएर बंगलादेश जान लागेका थिए।
सम्मेलनमा ३२ राष्ट्रका विद्यार्थी प्रतिस्पर्धा गर्दैछन्।
बुटवलबाट काठमाडौँका लागि छुटेको लु १ ज ४५७८ नम्बरको माइक्रोबसमा उनीहरू यात्रारत थिए।
झ्याप्ले खोलामा आमा सीतासहित जुम्ल्याहा दाजुबहिनी सधैँका लागि अस्ताए।
झ्याप्ले खोलामा पहिरोले माइक्रोलाई पुरिदियो। गाडीमा रहेका दीपेश-दीपिकासहित ९ जनाको ज्यान गयो।
दीपेश-दीपिकाका बाबु होमनाथ भट्टराई कोरियामा काम गर्छन्। शुक्रबार बिहान श्रीमती सीता र छोराछोरीसँग उनको कुरा भएको थियो।
कोरियाबाट नै फर्केर विवाह गरेका बुटवलका ३७ वर्षीय प्रकाश कुँवरको दम्पती पनि जुम्ल्याहा दाजुबहिनीसँगै सोही गाडीमा सोही स्थानमा अस्ताए।
२ महिनाअघि कोरियाबाट स्वदेश फर्केका उनले साउन २७ गते काठमाडौँकी ३४ वर्षीया अनु मल्लसँग बिहे गरेका थिए।
अनुकी २८ वर्षीया बहिनी सिर्जना कुँवर पनि उनीहरूसँगै एउटै गाडीमा थिइन्।
अक्टोबर १८ मा कोरियामा फर्कने योजनामा रहेका दम्पतीलाई पनि झ्याप्लेखोला पहिरोले लिएर गयो।
सो बसमा सवार गुल्मी दरबार गाउँपालिकाको चारपालाका ६३ वर्षीय जुद्धबादुर रायमाझी, उनकी बुहारी २८ वर्षीया प्रमिता रायमाझी र २ वर्षका नाती क्रिस रायमाझीको पनि मृत्यु भएको छ।
झ्याप्लेखोला पहिरोमा अझै केही गाडी र यात्रु पुरिएको हुन सक्ने भन्दै सुरक्षाकर्मीले खोजी जारी राखेका छन्।


