काठमाडौँ- कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले नख्खुखोलाले बगाएका दुई जनाको उद्धार गर्ने चणिकलाल तामाङले देखाएको साहसको प्रशंसा गर्दै सम्मान गरेका छन्।
सोमबार शहरी विकास मन्त्रालयमा सिंहले तामाङलाई सम्मान गरेका हुन्।
तामाङले शनिबार ललितपुर महानगरपालिका २५ सुगम टोलस्थित नख्खु खोलाले बगाएका रौतहटका २२ वर्षीय राज साह र उनकी दाजुकी छोरी ६ वर्षीया मेघनालाई उद्धार गरेका थिए।
कार्यवाहक प्रधानमन्त्री सिंहले मानवीय भावना देखाएर नदीमा बगिरहेकाहरुको उद्धार गरेको भन्दै तामाङको साहसी कामको प्रशंसा गरे।
‘तपाईंले आफैँलाई जोखिममा राखेर उद्धारमा खटिनुभयो। मानवीयता देखाउनुभयो। तपाईंको साहसको उच्च प्रशंसा गर्दछु,’ उनले भने।
तामाङले घाइतेहरुको उपचारमा विशेष ध्यान दिन आग्रह गरेका थिए।
शुक्रबारदेखिको निरन्तर वर्षाका कारण आएको बाढीपहिरोले जनजीवन क्षति पुर्याएपछि शनिबारै गृहमन्त्री रमेश लेखकले बैठक समेत बोलाएका थिए।
बिहान साढे १० बजे सिंहदरबारमा बसेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य कमान्ड पोस्टको बैठकमा मन्त्री लेखले नख्खु नदीमा बगेकालाई बचाउन नसकिएको बताएका थिए।
भिजिबिलिटीका कारण हेलिकप्टरमार्फत उद्धार गर्न नसकिएको उनको भनाइ थियो।
‘नख्खु खोलामा केही मानिसहरु टहराको छतमा बसेको अवस्थामा कोसिस गर्दागर्दै पनि बचाउन सकेनौँ। हेलिकप्टरमार्फत् पनि उद्धार गर्न सकिएन। भिजिबिलिटीका कारण जोगाउन सकेनौं,’ लेखकले भनेका थिए।
गृहमन्त्रीले बचाउन सकिएन भनेका दुई जनालाई काठमाडौँ पेन्टर काम गर्ने चणिकलाल बचाएका थिए।
आइतबार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि चणिकलाई सम्मान गरेका थिए।


