काठमाडौँ- सर्वोच्च अदालतका उपरजिस्ट्रार गोविन्द घिमिरेले नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्ध अदालतको अवहेलना मुद्दा फिर्ता लिने घोषणा गरेका छन्।
बुधबार राति सामाजिक सञ्जाल फेसबुकमा ‘भावुक’ स्टाटस लेख्दै उनले यस्तो घोषणा गरेका हुन्। आफूले हालेको अध्यक्ष घिमिरेविरुद्धको मुद्दा कसैको दबाबमा भएको समेत उनको भनाइ छ।
म हिजो देखी निदाउन सकेको छैन। जिवनभर प्रजातन्त्रको पछि लागियो। बा सधैँ यस्कै लडाई लड्नु भयो,’ राती १ बजेर ८ मिनेट जाँदा पोस्ट भएको स्टाटसमा लेखिएको छ, ‘बार जनताको आवाज हो। लोकतन्त्रको हिमायती हो। त्यसको नेतृत्वविरुद्ध मैले अवहेलनामा दिएको प्रतिवेदन फिर्ता लिएको जानकारी गराउँछु।’
अदालत खुला भएपछि आफ्ना भनाइसहित औपचारिक निवेदन दिने पनि उल्लेख गरेका छन्।
न्यायपरिषद्को न्यायाधीश सिफारिस सम्बन्धी निर्णयमाथि आलोचना गरेको विषयलाई लिएर बार अध्यक्ष घिमिरेविरुद्ध अवहेलना मुद्दा दर्ता गरिएको थियो। मुद्दाको पेसी कात्तिक १ लाई तोकिएको छ।
उनको पोस्टमा आफू कसैको प्यादा नबन्ने पनि उल्लेख गरेका छन्। मुद्दामा घिमिरेले प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठविरुद्ध भ्रामक र आधारहीन अभिव्यक्ति दिएको दाबी गरिएको छ।


