काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस र एमालेले संविधान खारेज गर्न चाहेको आरोप लगाएका छन्। बुधबार सम्पादकहरूलाई बोलाएर प्रचण्डले यस्तो आरोप लगाएका हुन्। दसैँको मुखैमा शुभकामना विनिमय गर्न गएका सम्पादकहरू कांग्रेस-एमालेमाथि दाहालले लगाएका गम्भीर आरोपहरूको प्रचण्ड भारी बोकेर फर्किएका हुन्।
उनले पहिलो र दोस्रो दलको सरकार बनाउनु नै संकटको संकेत भएको जिकिर गरे। ‘पहिलो र दोस्रो दलको सरकार बनाउनु नै संकटको संकेत हो। सामान्यतया संसदीय लोकतन्त्रमा यस्तो हुन्न,’ उनको भनाइ थियो।
आफू नेतृत्वको सरकार ढालेर नेपाली कांग्रेस र नेकपा एमालेले केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनाएकोमा प्रचण्डले सुरुदेखि नै रोष प्रकट गर्दै आएका थिए। आफूलाई सत्ताच्युत गरेको बेचैनीमा प्रचण्डले ती आक्रोशहरू पोखेको भनेर कांग्रेस-एमालेले लिँदै आएका थिए। अब भने कांग्रेस-एमालेले पनि मुख खोल्नुपर्ने गरी प्रचण्डले आरोपमा भारी बोकाइदिएका छन्।
असार १७ मध्यराति कांग्रेस–एमाले बीच सात बुँदे समझदारी भएर ३० गते ओली नेतृत्वको सरकार बनेको थियो। ओलीले विश्वासको मत लिने दिनमा आफूलाई गुमराहमा राखेर कांग्रेस र एमालेले नयाँ सरकार बनेको आरोप लगाएका थिए।
प्रचण्डका अनुसार कांग्रेस-एमालेको सरकार संविधान संशोधनका लागि नभई संविधान खारेजीका लागि बनेको आरोप लगाए।
एकै पटक खारेज भन्दा नमिल्ने भएर मात्रै संशोधन प्रयोग गर्न खोजिएको प्रचण्डको भनाइ छ।
आवरणमा संविधान संशोधनको विषय उठाएजस्तो देखिए पनि वास्तविकता भने संविधान खारेजीको तयारी रहेको उनको आरोप छ। कांग्रेस-एमालेलाई संघीयता, समावेशिता र गणतन्त्रजस्ता विषय मन नपरेकाले यो संविधान खारेज गर्ने दिशामा अघि बढेको उनको आरोप छ।
‘अहिले बनेको सरकारको मूल उद्देश्य संविधान संशोधन होइन। बहाना हो। किनभने अघिल्लो सरकारले भ्रष्टाचारकोविरुद्धका सुशासनको पक्षमा केही पहल गर्न थालेपछि सत्तामा नआउने भएपछि अफ्ठेरोमा परिने भयो भन्ने कारणले नै बनेको हो यो सरकार,’ उनले भने।
एकै पटक खारेज भन्दा नमिल्ने भएर मात्रै संशोधन प्रयोग गर्न खोजिएको प्रचण्डको भनाइ छ। उनले प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्लो पटक गरेको संसद् विघटनलाई पनि सदन विघटन मात्रै नभएर त्यसको मूल उद्देश्य संविधान विघटन रहेको दाबी गरेका छन्।

अहिले संविधान संशोधनको बहस नागरिक समाज बुद्धिजीवीहरूले पनि उठाइरहेको उनले बताए। उनले एमाले नेतृत्वलाई यो संविधान घाँडो लाग्न थालेको जिकिर गरेका थिए। यद्यपि उनले आफू संविधान संशोधनको विपक्षमा नरहेको पनि जिकिर गरे।
‘हामी संविधान परिमार्जन र संशोधनको विरोधी विलकुल होइन। पहिला दुईपटक संविधान संशोधन गर्यौं; समझदारीका साथ। मैले दुईपटक संशोधनको प्रस्ताव राखेको पनि थिएँ। त्यतिबेला मधेसी जनताको र मधेसी राजनीतिक दलको चाहनाअनुसार संशोधन प्रस्ताव दर्ता नगरेको भए चुनावमा मधेसी दलहरूलाई सामेल गर्न सायद सम्भव थिएन,’ उनले भने, ‘उहाँहरूलाई मेरो नेतृत्वको सरकार संविधान संशोधन गरेर भए पनि मधेसको मुद्दा, या जनताको मुद्दालाई संवोधन गर्न तयार छ भन्ने विश्वास भयो। निरन्तर संवाद, सहकार्य र संशोधन प्रस्तावका कारण निर्वाचनतर्फ देश जान सकेको हो।’
‘प्रचण्ड’ले नेपाल नयाँ शीतयुद्धको ‘इपिसेन्टर’ बन्ने खतरा रहेको पनि औँल्याए। अमेरिका र चीनबिचको प्रतिस्पर्धामा नेपाल इपिसेन्टर बन्ने खतरा दिन प्रतिदिन बढ्दै गएको प्रचण्डले आङ्कलन गरेका हुन्। यसअघि उनले आफूलाई र बंगलादेशकी प्रधानमन्त्री शेख हसिनालाई सत्ताच्यूत गराउनका लागि एउटै शक्ति (अमेरिकातर्फ संकेत गर्दै) रहेको बताएका थिए।
प्रचण्डले दक्षिण एसियामा नै विगत केही समयदेखि ठुलो राजनीतिक अस्थिरताको भुमरीमा जस्तो सरकार बन्ने र भत्किने क्रम जस्तो किसिमले देखा परेको उल्लेख गरे। उनले यसमा श्रीलंका र बंगलादेशको उदाहरण प्रस्तुत गरे।
‘हाम्रोमा चाहिँ हाम्रै मौलिकतामा छ भन्छु म। हाम्रोमा समीकरण बन्ने र भत्किने कुरा अन्तर्राष्ट्रिय कारणले भयो भनेर भन्नु अत्युक्ति हुन्छ,’ उनले भने, ‘यो हाम्रो आन्तरिक राजनीतिक डाइनामिक्सका कारणले भएको छ। तर, दिनप्रतिदिन अन्तर्राष्ट्रिय दबाब र चलखेल बढ्दै जाने आङ्कलन गर्न सकिन्छ।’
प्रचण्डले विश्व परिस्थिति नयाँ ढङ्गले अघि बढेको जिकिर गरे। केहीले तेस्रो विश्वयुद्ध सुरु भइनै सक्यो भनेर प्रचार गरिरहेको र ठुलै राजनीतिज्ञहरूले तेस्रो विश्वयुद्धको संघारमा रहेको भन्न थालेको सुनाए।
यसको असर सबैतिर परेको उनको भनाई छ। ‘हाम्रो देशको अवस्थितिको कारणले, चीन र भारतजस्ता विशाल छिमेकीको बिचमा हुनुको कारणले विगतदेखि हामीसँग चुनौती र अवसर पनि रहँदै आएका छन्। यो बिचमा चुनौती बढ्दै गएको अनुभूति गरेका छौँ। विश्वमा आर्थिक शक्ति र विश्व शक्ति बन्ने प्रतिस्पर्धामा चीन र अमेरिका सबैभन्दा अगाडि छन्। रुस पनि सुपरपावरको हैसियत गुम्न नदिनका लागि प्रयास गर्ने कुरा पनि स्वाभाविक छ।’
देशको भूराजनीतिको मात्र कुरा नभएर हाम्रो भौगोलिक बनावटको कारणले पनि नेपाल जहिले पनि अप्ठ्यारोमा पर्ने देश रहेको उनले बताए।


