काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई पक्राउ गरेर सरकारले दादागिरि देखाएको आरोप लगाएका छन्।
पक्राउ परेपछि कार्यकर्तालाई सम्बोधन गर्दै रविले यस्तो आरोप लगाएका हुन्।
‘म न्यायिक प्रक्रियामा सघाउन प्रतिबद्ध छु। राज्यले गरेको यो दादागिरीलाई डटेर सामाना गर्न पनि आग्रह गर्छु,’ कार्यकर्तालाई उनले आग्रह गरेका छन्।
आफू पक्राउ परेपनि व्यक्तिका रूपमा आफूलाई कुनै चिन्ता नभएको उनको जिकिर छ। तर आफूहरूको अभियानमाथि भने यसले प्रहार गरेको रविको ठहर छ।
‘हामीमाथि प्रहार भएको छ। यो पूर्वाग्रहविरुद्ध खुलेर लड्ने छौँ। अदालत पनि मिलाउने सेटिङ भएको हुन सक्छ,’ उनले भने, ‘मलाई साथ नदिएपनि हाम्रो अभियानलाई साथ दिनुहोला।’
आफूले कुनै पनि अपराध नगरेको उनको जिकिर थियो। राज्यले सम्पूर्ण स्रोत लगाएर आफूलाई पक्राउ गरेको उनको दाबी छ।
लामिछाने पक्राऊ पर्दा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध रास्वपा कार्यकर्ताले नाराबाजी गरेका छन्।


