काठमाडौँ- आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि सरकारको नीति तथा कार्यक्रम जेठ ५ गते सार्वजनिक गर्ने तयारी गरिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदमा आगामी आवका लागि सरकारको नीति तथा कार्यक्रम जेठ ५ मा प्रस्तुत गर्ने निर्णय गरिएको हो।
राष्ट्रपति रामचन्द्र पौडेलले पहिलो पटक सरकारको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्न लागेका हुन्। वर्तमान संविधानको धारा ९५ मा संघीय संसद्का दुवै सदनमा राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ।
कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले पनि कार्यव्यवस्था परामर्श समिति बैठकमा जेठ ५ मा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भन्ने छलफल भएको बताए।
प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको आइतबारको बैठकमा जेठ ५ मा नीति तथा कार्यक्रम प्रस्तुत गर्नेबारे छलफल भएको थियो। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले जेठ ५ मा नीति तथा कार्यक्रम संसद्मा प्रस्तुत गर्ने निर्णय भएको बताएका थिए।
आइतबार नै प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग आगामी आवको नीति तथा कार्यक्रमका विषयमा छलफल गरेका थिए।
