२०८३ कार्तिक १२ गते बुधबार

५ सहकारीबाट ३ अर्ब ठगीको ‘नाइके’ पृष्ठभूमिमा जीबी-रवि र छवि

 |  खिलानाथ ढकाल
Sanket

खिलानाथ ढकाल

काठमाडौँ, मङ्सिर १०
Rabi-GB-and-Chhabi
गोर्खा मिडिया नेटवर्कअन्तर्गत ग्यालेक्सी टिभीको उद्घाटन कार्यक्रममा जीबी राई (बीच), छविलाल जोशी (दायाँ) र रवि लामिछाने। तस्बिरः ग्यालेक्सी फोरके टीभीको फेसबुक पेज

काठमाडौँ- चर्चित सहकारी ठगी प्रकरणका फरार आरोपी गितेन्द्रबाबु (जीबी)राई, प्रहरी हिरासतमा रहेका रवि लामिछाने र छविलाल जोशीविरूद्धको अनुसन्धान एक महिना पूरा भएको छ। सम्पत्ति शुद्धीकरणको कसुरमा समेत भइरहेको उनीहरूविरूद्धको अनुसन्धान गर्न प्रहरीलाई अब झन्डै ६० दिनको समय छ।

सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा १७ (४) अनुसार प्रहरीले ९० दिनसम्म आरोपितलाई थुनामा राखेर अनुसन्धान गर्न सक्छ। कानुनी व्यवस्थाले फरार जीबीबाहेक रवि-छविहरूको हिरासतयात्रा लम्बिने देखिन्छ।

मुख्यतया: अहिले जीबी, रवि, छविहरूविरूद्ध पाँच वटा सहकारी ठगीको आरोपमा अनुसन्धान भइरहेको छ। काठमाडौँ, कास्की, पर्सा, रूपन्देही र चितवनका सहकारीको तीन अर्ब बराबरको रकम ठगीको ‘नाइके’ पृष्ठभूमिमा जीबी, रवि र छवि जोशी छन्।

जीबी नेपालमा ‘डाइरेक्ट सेलिङ’का नाममा गैरकानुनी नेटवर्किङ धन्दा चलाउने नेचर हर्ब्सका मालिक पनि हुन्। त्यो नेचर हर्ब्ससँग जोडिएका व्यक्ति नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशी थिए। यसमा पछि मिसिएका त्यतिबेलाका कार्यक्रम प्रस्तोता, हालका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि हुन्।

यिनै तीन जनाको व्यापारिक साझेदारीपछि गोर्खा मिडिया नेटवर्कसम्म विस्तार भएको थियो। तीन जनाको साझेदारी विवादास्पद ढंगले सहकारी ठगीमा यसरी जोडियो कि पूर्वगृहमन्त्रीसमेत भइसकेका रवि, पूर्वडीआईजी जोशीले मंसिरको जाडो प्रहरी हिरासतमा बिताउनु परिरहेको छ।

कात्तिक २ गते पक्राउ पर्दाको अवस्थामा रवि। वरिपरि रास्वपा कार्यकर्ता। तस्बिर : नेपाल फोटो लाइब्रेरी

अनुसन्धान अनुसार जीबीका ‘डाइरेक्ट सेलिङ’जस्तै थुप्रै व्यवसाय छन्, उनी नेपालमा कम मलेसियामा बढी बस्ने व्यक्ति हुन्। अन्य व्यवसायबारे कति छन् गुनासो तथा उजुरी, त्यसलाई छोडेर सहकारी ठगीमा प्रहरीले मुख्य अनुसन्धान केन्द्रित गरेको छ।

पाँच वटा सहकारी ठगीको अनुसन्धान पाँच जिल्लाका जिल्ला प्रहरी कार्यालयहरूले गरिरहेका छन्। अनुसन्धानको नेतृत्वमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) रहेको छ। ब्युरोका अनुसन्धान अधिकृतहरू पाँच वटै जिल्लामा सक्रिय रहेको त्यहाँका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दीपक थापा बताउँछन्।

‘पाँच वटै जिल्लामा हामीले अनुसन्धान अधिकृतहरू खटाएका छौं, उनीहरूको काम जिल्लाले गरिरहेको अनुसन्धानलाई सपोर्ट गर्ने, थप सूचना र तथ्यहरू केलाउनेलगायत छन्,’ थापाले भने, ‘यसबाहेक संगठित अपराधजन्य कसुरको विस्तृत अनुसन्धान, सम्पत्ति शुद्धीकरणजन्य कसुरको अनुसन्धानमा ब्युरोको टोलीले काम गर्छ।’

अहिले सहकारी ठगीबाहेक जीबी, रवि र छविलगायतविरूद्ध ४ वटा कसुर स्थापित गर्न प्रहरीले मेहनत गरिरहेको छ। ठगी, किर्ते, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अनुसन्धान प्रहरीले गरिरहेको छ।

‘यी चार वटा मुद्दा आकर्षित हुने किसिमले हिरासतमा रहेकाहरूलाई हिरासतमा थप राख्न अदालतबाट म्याद थप भइरहेको छ, आरोपितहरूको कसुर जहाँ-जहाँ देखिन्छ, सम्बन्धित ठाउँमा पक्राउ पुर्जी लिएर बयानमा लग्ने व्यवस्था मिलाइएको छ,’ एआईजी थापाले भने।

चार वटा कसुर आकर्षित गरी म्याद थपको व्यवस्थामा प्रहरीले अहिले अदालतको साथ पाइरहेको छ। पहिले मुद्दा दायर भएपछि मात्रै थुनछेक बहस (सरकारी वकिल र व्यक्तिगत वकिल)ले गर्थे भने अहिले म्याद थपका बखतमा इजलासमै वादी-प्रतिवादी वकिलबीच बहस हुने गरेको छ।

‘इजलासले बकाइदा आदेश दिएर मात्रै अहिले थुनुवाहरूलाई हिरासतमा राख्ने अनुमति पाइरहेका छौं, तथ्य र प्रमाण हेरेर बेञ्चले आदेश दिएपछि यो सम्भव भइरहेको छ, बाहिर प्रतिशोधपूर्ण रूपमा प्रहरीले त्यतिकै थुनिरहेको छ भनी मिथ्या हल्ला फिँजाइएको छ,’ उनले भने।

पहिले, सम्पत्ति शुद्धीकरणजन्य कसुरमा अनुसन्धान गर्ने निकाय ‘सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग’ थियो। अहिले फौजदारी मुद्दाको अनुसन्धान जुन निकायले गर्छ उसैलाई सम्पत्ति शुद्धीकरणजन्य कसुरको अनुसन्धान गर्ने अधिकार दिइएको छ। पहिले फौजदारी कसुरको अनुसन्धान पूरा भएपछि प्रहरीले विभागलाई सम्पत्ति शुद्धीकरणको अनुसन्धानका लागि लेखेर पठाउने गरेको थियो। अहिले सिधै उजुरी नपरेको खण्डमा प्रधानमन्त्री कार्यालय मातहत रहेको विभागले खासै ‘बिजनेस’ नपाउने भएकाले यसलाई ‘नाम मात्र’को भन्न थालिएको छ।

छविलाल जोशी।

हालसम्म प्राप्त प्रमाण र अनुसन्धानले पाँच वटा सहकारीको तीन अर्ब बचत हिनामिना भएको देखाएको एआईजी थापाले बताए।

सहकारीबाट निकालिएको रकम विभिन्न कम्पनी तथा जग्गा-जमिनमा समेतमा लगानी गरेको भेटिएको छ। त्यस्तो जमिन करिब ७० रोपनी रहेको र त्यसलाई सम्बन्धित ठाउँका मालपोतबाट रोक्का राखिएको थापाले बताए।

‘सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा घर, जग्गा, गाडी बिक्री गर्न नपाउन् भनेर रोकावट गरिएको छ, बैंक खाता रोक्का, थुनुवाहरूले नजिकका आफन्तको नाममा सम्पत्ति राखेको अवस्थासमेत हेरेर हामीले आवश्यक सबै कदम चालेका छौं,’ थापाले भने।

कालिमाटीदेखि पर्सासम्मका पाँच ‘स’, ४ हजार ४३३ जनाको जाहेरी
प्रहरीका अनुसार अहिले पाँच वटा ‘स’ अगाडि आएका सहकारी संस्थाहरू छन्। ती सबैका सञ्चालक जीबी हुन् र ती सहकारी ठगीमा छवि, रवि पार्टनरको रूपमा जोडिएका छन्। र, ती पाँच वटै सहकारीको कोषाध्यक्षमा कुमार रम्तेल देखिन्छन्। रम्तेल कास्कीको सूर्यदर्शन सहकारी संस्था ठगी प्रकरणमा एक वर्षअघि नै पुर्पक्षका लागि कारागार चलान भएका छन्।

अहिले हिरासतमा रहेका रवि-छविलगायतबाहेक सहकारी संस्था ठगीमा जोडिएका कतिपय व्यक्ति पक्राउ परेका छन्, कतिपय फरार छन्। काठमाडौँदेखि पर्सासम्मका ५ सहकारीमार्फत् ठगी गरेको आरोपमा उनीहरूविरुद्ध ४ हजार ४३३ जनाले जाहेरी दिइसकेका छन्।

कालिमाटीको स्वर्णलक्ष्मी सहकारी ठगीको पूरक जाहेरी अहिले जिल्ला प्रहरी परिसर काठमाडौँमा छ। पहिले प्रारम्भिक जाहेरी प्रहरी वृत्त कालिमाटीमा थियो, अहिले पूरक जाहेरी आएपछि परिसर स्वयम् स्वर्णलक्ष्मी सहकारीको अनुसन्धानमा सक्रिय छ।

‘स्वर्णलक्ष्मी सहकारी ठगीमा जोडिएका छविलाई कास्कीबाट ल्याएर बयान लिइयो, अब रविलाई ल्याइँदैछ,’ परिसरका एक अनुसन्धान अधिकृतले भने।

स्वर्णलक्ष्मी सहकारी ठगीमा ६८० जनाको जाहेरीमा एक अर्ब ११ करोड ८५ लाख ३८ हजार ४८८ रुपैयाँ बिगो दाबी गरिएको छ। त्यसमा २४ जना प्रतिवादी छन्। तीमध्ये छवि, रवि, कुमार, सुनिता नेवा: र कमल लामा पक्राउ परेका छन्।

पर्साको सानोपाइला सहकारी संस्था ठगीमा ४३७ जनाले जाहेरी दिएका छन्। उक्त सहकारीको ३३ करोड ५० लाख ७० हजार ४२७ रुपैयाँ ठगी भएकोबारे अनुसन्धान चलिरहेको छ। उक्त सहकारीको अनुसन्धानमा अहिलेसम्म छवि र रविलाई बयानमा बोलाइएको छैन। उनीहरूलाई बयानमा लैजाने सम्भावना अधिक छ। सानोपाइला सहकारी ठगीमा मुख्य आरोपी जीबीसहित १२ जना हुन्।

लामिछाने उपप्रधान एवम् गृहमन्त्री भएका बेला उनलाई भेट्न पुगेका जीबी राई।

चितवनको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था ठगीमा ४४६ जनाले जाहेरी दिएका छन्। उक्त सहकारी संस्थाको ३७ करोड ६५ लाख ८४ हजार ५४६ रुपैयाँ ठगी भएको जाहेरीमा १७ जना प्रतिवादी छन्। त्यसमा जीबी, रवि, छवि, रम्तेल नै मुख्य छन्। उनीहरूविरुद्ध चितवन जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी भएर बयानमा लैजाने तयारी छ।

रुपन्देहीको सुप्रिम सहकारी संस्थाका १८३१ जनाले ८६ करोड १८ लाख २३ हजार ७५४ रुपैयाँ ठगी गरेको भनी जीबी, छवि, रविलगायत २७ जनाविरूद्ध जाहेरी दिएका छन्। उक्त सहकारी ठगीको अनुसन्धान सिलसिलामा रवि-छविलाई रुपन्देहीमा बयान लिइसकिएको छ।

कास्कीको सूर्यदर्शन सहकारी संस्था ठगीमा १०३९ जनाले जाहेरी दिएका छन्। उक्त सहकारीको १ अर्ब ११ करोड ३४ लाख ४३ हजार ४५ रुपैयाँ ठगी भएकोमा रवि, छवि, रम्तेलसहित १९ जना पक्राउ परेका छन्। १३ जना फरार छन्। उक्त सहकारी ठगीमा थप २५ जनाविरूद्ध पक्राउ पूर्जी जारी भएको छ।

यस सहकारी संस्था ठग्दा जीबी राईले सहोदर दिदी-बहिनी (गीता र लीला पछाई)को नाममा सम्पत्ति जोडेको पाइएको छ। बहिनी लीला (हाल कास्कीमा थुनामा)को नाममा जीबीले खुमलटारमा चार आना जग्गामा बनेको घर, कार, पोखरामा ५ आनामा बनेको घर राखेको पाइएको छ। उक्त सम्पत्ति रोक्का राखिसकिएको छ।

दिदी गीता पछाई (हाल रुपन्देहीमा थुनामा)को नाममा जीबीले रुपन्देहीमा जमिन राखेको पाइएको छ। गीताको नाममा रुपन्देहीमा ३ आना, २ पैसा,१.५ दाम जग्गा देखिएको छ। उक्त जग्गा मालपोतबाट रोक्का राखिएको छ।

जीबीले सहकारीको बचतबाट ललितपुरको भैंसेपाटीमा २३ रोपनी ७ आना जग्गा खरीद गरेर बिक्री गरेको भेटिएको छ। राईले २०७३ सालमा किनेको उक्त जग्गा २०७९ भदौ १ गते बाजेको सेकुवाका सञ्चालक चेतन भण्डारी र विवादास्पद नागरिक पवनकुमार साहको संयुक्त लगानीको कम्पनी चेनी क्यापिटललाई १२ करोड ५० बिक्री गरेको खुलेको छ।

चेनी क्यापिटलले १२ करोड ५० लाखमा किनेको २३ रोपनी ७ आना जग्गामध्ये ३ रोपनी जग्गा धितो राखी २०७९ भदौ १५ गते नै हिमालयन बैंक न्यूरोड शाखाबाट १६ करोड ८० लाख ऋणसमेत लिएको भेटिएको छ। उक्त जग्गा रोक्का राखिएको छ।

प्रकाशित: २०८१ मङ्सिर १० गते सोमबार ०३:१४
Sanket

खिलानाथ ढकाल

ढकाल सुशासन र अपराध क्षेत्रमा कलम चलाउँछन्।
प्रतिक्रिया

थप समाचार

रेमिट्यान्स बढ्यो, किन महंगो भयो नेपालीको भान्सा?

राष्ट्र बैंकको तथ्यांकले पछिल्लो समय सर्वसाधारणको भान्सामा प्रयोग हुने वस्तुको मूल्य बढेको देखाउँछ। समीक्षा अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि ७.७५ प्रतिशत पुगेको छ।

चौथो त्रैमाशमा आर्थिक वृद्धि ४ प्रतिशत हुने प्रक्षेपण, विद्युतको मुख्य योगदान

विद्युत उत्पादन, प्रसारण, वितरण, निक्षेप संकलन तथा ऋण प्रवाह, निर्जीवन बीमा प्रिमियम संकलन, आवास तथा भोजन सेवा लगायतका क्रियाकलापमा भएको वृद्धिले सहयोग गरेको कार्यालयले जनाएको छ।

एनआरएन इन्फ्रास्ट्रक्चरले ३ कम्पनीमा १ अर्ब ३० करोड लगानी गर्दै, जलविद्युतमा मात्रै १ अर्ब २० करोड

कम्पनीले दुई जलविद्युत आयोजना र एक केबल उद्योगमा गरि कुल १ अर्ब २९ करोड ९७ लाख ५० हजार रुपैयाँ लगानी गर्ने सैद्धान्तिक निर्णय गरेको हो।

तीन अर्ब नोक्सानमा रहेको जनकपुर चुरोटको डीडीए सकियो, दाबी पेस गर्न तीन साता समय

तीन साताको समयभित्र कुनै दाबी पर्न नआएमा प्रचलित कानुनबमोजिम प्रक्रिया अगाडि बढाइने मन्त्रालयले स्पष्ट पारेको छ। चुरोट कारखाना सरकारले बिक्री गर्ने योजना बनाएको छ।

व्यवसायी रुप ज्योति संकटमा, ऋण नतिरेपछि हिमालयन बैंकले दियो ‘अल्टिमेटम’

हिमालय वायर्स प्रालिले लिएको ऋण नतिरेपछि हिमालयन बैंकले रुप ज्योतिलाई ३५ दिनको ‘अल्टिमेटम’ दिएको छ। उक्त समयभित्र ऋण चुक्ता नगरे सम्पत्ति लिलाम गरेर असूल गर्ने चेतावनी बैंकले दिएको छ।
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना