काठमाडौँ- १५ दिनभित्र उद्योगले विद्युत बक्यौता नतिरे पनि उद्योगको लाइन नकाटिने भएको छ। बक्यौता नतिर्ने उद्योगको लाइन काट्ने निर्णयबाट नेपाल विद्युत प्राधिकरण पछि हटेको हो।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले केही दिन अघि पत्रकार सम्मेलन गरेर १५ दिनभित्र बक्यौता नतिर्ने उद्योगको लाइन काट्ने चेतावनी दिएका थिए। तर विद्युत नियमन आयोगको निर्देशनपछि प्राधिकरण लाइन काट्ने निर्णयबाट पछि हटेको हो।
बुधबार बसेको प्राधिकरणको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो।
१५ दिनभित्र बक्यौता नतिरे पनि तत्काल नै उद्योगको लाइन काट्ने निर्णय तत्कालका लागि कार्यान्वयन नगर्ने निर्णय भएको नेपाल विद्युत प्रधिकरणका प्रवक्ता चन्दनकुमार घोषले जानकारी दिए।
लाल आयोगको प्रतिवेदन सावर्जनिक गर्दै सरकारले टाइम अफ डे (टीओडी) मिटिर अनुसार १५ दिनभित्र ट्रंकलाइन र डेलिकेडेट लाइन प्रयोग गरेको उद्योगबाट बक्यौता उठाउने भनेको थियो।
‘हिजो विद्युत नियमन आयोगले उद्योग लाइन नकाट्नु भनेर निर्देशन दिएको थियो। आज बसेको सञ्चालक समितिको बैठकले नियमन आयोगको निर्देशन अनुसार नै उद्योगको लाइन तत्काल नै नकाट्ने निर्णय गरेको हो,’ उनले भने, ‘लाइन नकाट्न निर्देशन दिएपछि नै आज बैठक बसेर नै लाइन नकाट्ने निर्णय सञ्चालक समितिले गरेको हो।’
विद्युत महसुलको बक्यौता रकम प्रशासनिक तथा प्राविधिक हिसाबले आवश्यक जाँच गरी टीओडी मिटर समेतको आधारमा प्रतिवेदन पेश गर्न प्रा. डा.अरविन्द कुमार मिश्रको संयोजकत्वमा गठन भएको समितिले काम सुरु गरेको हो। जल तथा मौसम विज्ञान विभागमा कार्यालय राखेर काम सुरु गरेको छ।


