एजेन्सी – रुसले कजाकस्तानमा भएको विमान दुर्घटनाबारे कुनै पनि अनुमानको निन्दा गरेको छ। वास्तवमा विमान दुर्घटनामा रुसको संलग्नता रहेको आशंका गरिएको छ।
अजरबैजानको एम्ब्रेर १९० विमान २५ डिसेम्बरमा कजाकिस्तानको अक्ताउमा करिब १२ः३० बजे दुर्घटनाग्रस्त भएको थियो। यस दुर्घटनामा ३८ जनाको मृत्यु भएको थियो।
दुर्घटनापछिको प्रारम्भिक अनुसन्धानमा चराको बथानसँग ठोक्किएर विमान दुर्घटना भएको खुलेको छ। तर, पछि अक्सिजन ट्यांकीमा विस्फोट भएर दुर्घटना भएको बताइएको छ।
तर, केही सञ्चारमाध्यममा भने विमानमाथि रुसले आक्रमण गरी दुर्घटना भएको दाबी पनि गरिएको छ। हाल, काजाकिस्तान अधिकारीहरूले उडानको डाटा रेकर्डर बरामद गरेका छन् र दुर्घटनाको कारण खोजिरहेका छन्।
यसैबीच, क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले बिहीबार विमान दुर्घटनाको पूर्ण अनुसन्धान नभएसम्म अनुमानबाट टाढा रहनुपर्ने बताएका छन्।
विमान दुर्घटनापछिको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। विमानको केही भागमा गोलीका छर्राजस्ता निशानहरू देखिएका छन्। रुसको वायु रक्षा प्रणालीले विमानलाई ड्रोन सम्झेर आक्रमण गरेको हुनसक्ने अनुमान गरिएको छ।
रुसी सैन्य ब्लगर युरी पोडोल्याकाले समाचार एजेन्सी एएफपीलाई विमानको भग्नावशेषमा देखिएको प्वाल एन्टी एयरक्राफ्ट मिसाइल प्रणालीका कारण भएको हुनसक्ने बताएको छ। क्षतिले विमान दुर्घटनावश वायु रक्षा मिसाइल प्रणालीमा ठोक्किएको हुन सक्ने उसको अनुमान छ।
रक्षा विशेषज्ञ जेम्स जे मार्लोले सामाजिक सञ्जालमा लेखेका छन् – यो घटना भएको बेला रुसी रक्षा प्रणालीले युक्रेनी ड्रोनलाई ग्रोज्नीमा अवरोध गरिरहेको जानकारी पाएको थियो। यदि यो सत्य हो भने रक्षा प्रणालीले विमानलाई ड्रोन मानेर गल्तीले आक्रमण गरेको हुनसक्छ।


