काठमाडौँ- सहरी विकासमन्त्री सीता गुरुङले ललितपुरको भैंसेपाटीमा निर्माणाधीन मन्त्री निवास भवनको काम यथासक्य पूरा गर्न निर्देशन दिएकी छिन्। शनिबार निर्माणस्थलमा पुगेर भवन निर्माणको प्रगतिबारे जानकारी लिएपछि मन्त्री गुरुङले निर्माण व्यवसायीलाई सम्झौताबमोजिम बाँकी काम यथासक्य छिटो पूरा गर्न निर्देशन दिइन्।
सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गतको विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयले निर्माण गरिरहेको सभामुख, राष्ट्रियसभाका अध्यक्ष, संघीय सरकारका मन्त्री, प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखहरूको निवास निर्माण गर्न सरकारले ०७६ कात्तिकमा ठेक्का लगाएको थियो। तर कोभिड–१९ र अन्य कारणले समयमा काम हुन सकेन। त्यसयता भवन निर्माणकालागि तेस्रो पटक थपिएको म्याद पनि सकिँदैछ।
मन्त्री गुरुङले समयमा काम नसकिए सरकारले म्याद थपिहाल्छ भन्ने मान्यताबाट काममा ढिलासुस्ती नगर्न निर्माण व्यवसायीहरूलाई निर्देशन दिइन्। ‘बेलामा काम सक्यो भने तपाईहरूलाई पनि ढुक्क हुन्छ। सरकारको पनि एउटा योजना पूरा हुन्छ। बरू कामदारको संख्या बढाउनुस्, दिनरात गरेर भएपनि काम गर्नुस्, तर सम्झौताबमोजिम यथासक्य काम सम्पन्न गर्नुहोस्,’मन्त्री गुरुङले निर्देशन दिँदै भनिन्।
विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयका अनुसार भवन निर्माणमा हालसम्म ९० प्रतिशत काम पूरा भएको छ। कार्यालयका उपनिर्देशक दिपक श्रेष्ठले आगामी असार मसान्तभित्र निर्माणका काम पूरा भइसक्ने जानकारी दिनुभयो। मन्त्री गुरुङसहित सहरी विकास मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठ, सहरी विकास तथा भवन निर्माण डिभिजनका महानिर्देशक सुरेन्द्रमोहन श्रेष्ठलगायतको टोलीले आयोजनाको स्थलगत अनुगमन गरेको हो।
त्यसक्रममा मन्त्री गुरुङले भवन निर्माण क्षेत्र वरपरका स्थानीयबासीहरूसँग समेत छलफल गरिन्। स्थानीयबासीहरूले भवन निर्माणसँगै आसपासको सडक निर्माण, ढल निर्माण लगायतका योजनामा समेत सरकारले लगानी गरिदिनुपर्ने माग गरेका छन्। मन्त्री गुरुङले स्थानीयबासीका माग सुनेपछि ती मागहरूका बारेमा आवश्यक समन्वय गरेर काम अघि बढाउने आश्वास्त पारिन्।


