काठमाडौँः युवालाई स्वदेशमै उद्यम गर्न प्रोत्साहित गर्दै स्थानीय स्रोतसाधनको उपयोगमार्फत रोजगारी सिर्जना गर्ने उद्देश्यले ‘स्टार्टअप नेपाल समिट–२०२६’ को प्रदेशस्तरीय अभियान पोखराबाट सुरु भएको छ ।
‘नेपालमा बसौँ, नेपालमै उत्पादन गरौँ र रोजगारी सिर्जना गरौँ’ भन्ने नारासहित सुरु गरिएको अभियानले सातै प्रदेशका व्यावसायिक सम्भावना पहिचान गरी उद्यमशीलताको विकास गर्ने लक्ष्य राखेको छ ।
समिटकी अध्यक्ष शोभा ज्ञवालीले युवालाई जागिर खोज्नेभन्दा रोजगारी सिर्जना गर्ने उद्यमी बनाउन अभियान सञ्चालन गरिएको बताइन् । युवामा नयाँ सोच, सीप र व्यावसायिक सम्भावना भए पनि लगानी, मार्गदर्शन तथा बजारको पहुँच अभावमा धेरै नवीन योजना कार्यान्वयनमा आउन नसकेको उनको भनाइ छ ।
उनले स्टार्टअप प्रवर्द्धनका लागि व्यवसाय दर्ता प्रक्रिया सरल बनाउन, सहुलियतपूर्ण कर्जा उपलब्ध गराउन र राम्रो व्यावसायिक योजना भएका तर धितो राख्न नसक्ने युवालाई वित्तीय पहुँच सुनिश्चित गर्न सरकारसँग आग्रह गरिन् ।
कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सरकारी अनुदान तथा सहयोगलाई उत्पादन र रोजगारी सिर्जनासँग जोड्नुपर्ने बताए । उत्पादनमूलक उद्यमलाई प्राथमिकता दिए मात्रै सरकारी सहयोगको प्रभावकारी उपयोग हुने उनको भनाइ थियो ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले महानगरले युवालाई उद्यमशीलतातर्फ आकर्षित गर्न तालिम, बीउ पुँजी ९सिड मनी० र व्यावसायिक परामर्श उपलब्ध गराउँदै आएको जानकारी दिए ।
कार्यक्रममा बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरूले स्टार्टअप व्यवसायको विकासमा वित्तीय पहुँच, व्यावसायिक योजना र लगानी व्यवस्थापनको महत्त्वबारे धारणा राखेका थिए ।
समिट आयोजकका अनुसार अभियानअन्तर्गत सातै प्रदेशबाट चारदेखि पाँचवटासम्म उत्कृष्ट स्टार्टअप छनोट गरिनेछ । छनोट भएका उद्यमलाई काठमाडौंमा आयोजना हुने अन्तिम सम्मेलनमा सहभागी गराउने योजना रहेको छ ।


