काठमाडौँ- विद्युत् प्राधिकरणको त्रुटीले खानेपानीको पाइप फुटेपछि क्षति भएको सडक पुनर्स्थापनाका लागि डिभिजन सडक कार्यालय काठमाडौँले उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)लाई पत्र पठाएको छ।
बिहीबार डिभिजन सडकले केयुकेएललाईपत्र लेख्दै अरनिको राजमार्गअन्तर्गत माइतीघर-तिनकुने सडकखण्डमा पर्ने बबरमहलस्थित सर्भिस लेनमा क्षतिग्रस्त सडक यथास्थितिमा यथाशीघ्र फर्काउन पत्र पठाएको हो।
‘क्षतिग्रस्त सडक यथास्थितिमा यथाशीघ्र पुन:स्थापना गरिदिन हुन र क्षतिको न्यूनीकरणको लागि थप आवश्यक सावधानी अपनाउन हुनसमेत अनुरोध छ,’ सडक डभिजनले केयूकेएललाई पठाएको पत्रमा उल्लेख छ।
उक्त सडक खण्ड सामरिक तथा यातायात सञ्चालनको दृष्टिले अति संवेदनशील क्षेत्र रहेको भन्दै डिभिजन सडकले पाइप फुटेर जलमग्न हुन थालेपछि बन्द गर्न खबर गराएपनि लामो समयसम्म पानीको बहाब नरोकिएकोले थप क्षति हुन पुगेको सडक डिभिजनको भनाइ छ।



