काठमाडौँ- नेपाली औषधि उत्पादन उद्योग ओम मेगाश्री फर्मास्युटिकल्सले वैदेशिक रोजगारीमा गएका नेपालीहरूका लागि लक्षित गर्दै खुलाएको आईपीओबाट १५ करोड भन्दा बढी उठाएको छ।
१५ लाख ५३ हजार १७० कित्ताका लागि वैदेशिक रोजगारीमा रहेका ५६ हजार ३३९ जनाले आवेदन दिएका हुन्। ओम मेगाश्रीको आईपीओमा आवेदन परेको यो संख्या मागभन्दा बढी हो।
सेयर निष्कासन हुने बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार जारी पूँजी ६० करोडमध्ये ३० प्रतिशत सेयर सर्वसाधारणमा जारी गर्न अनुमति पाएको हो। आईपीओमा न्यूनतम १० कित्ता सेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ। लगानीका लागि आह्वान गरिएका कित्ताभन्दा आवेदक बढी रहेकाले सबैले आईपीओ नपाउने र पाउनेहरूले पनि हरेकले १० कित्ता मात्र पाउने भएका छन्।
सर्वसाधारणका लागि कम्पनीको १८ लाख कित्ता सेयर जारी गर्ने तयारी छ। त्यसमध्येकै १० प्रतिशतले हुन आउने १ लाख ८० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका व्यक्तिहरूका लागि निष्कासन गरेको हो।
ओम मेगाश्रीले ५ प्रतिशत अर्थात ९० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि र ३ प्रतिशत अर्थात ५४ हजार कित्ता सेयर कम्पनीका कर्मचारीहरूलाई छुट्याएको छ। बाँकी रहेको १४ लाख ७६ हजार कित्ता सेयर कम्पनीले सर्वसाधारणका लागि निष्कासन गर्नेछ।


