धनगढी – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समानुपातिक निर्वाचन प्रणाली हटाउनुपर्ने संकेत गरेका छन्।
समानुपातिक व्यवस्थाकै कारण कुनै पनि दलको बहुमत आउन नसकेको र त्यसले देशमा राजनीतिक अस्थिरता कायम रहेको उनको भनाइ थियो।
धनगढीमा सोमबार आयोजित नेपाली कांग्रेसको प्रथम सुदूरपश्चिम प्रदेश सम्मेलनको उद्घाटन सत्रमा देउवाले भने, ‘संविधानमा समानुपातिक समावेशीको प्रणालीको व्यवस्था छ। त्यसले कुनै पनि पार्टीको बहुमत आउन सकेको छैन। जस कारण हामीले बहुमत ल्याउन सकेका छैनौं। यही प्रणाली रहिरह्यो भने हामीले भविष्यमा पनि बहुमतको सरकार बनाउन सक्दैनौँ,’ उनले भने।
उनले यसकै लागि दुई प्रतिस्पर्धी दलहरूले गठबन्धन गरेको पनि बताए। ‘नेपाली कांग्रेसको मुख्य प्रतिस्पर्धी पार्टी एमाले हो। एमालेको पनि हामी मुख्य प्रतिस्पर्धी हौं। तर हामी मिलेर सरकार बनाएका छौं। त्यसका अरु धेरै कारणहरू छन्। मुख्य कारण भनेको देशमा देखिएको राजनीतिक अस्थिरता नै हो,’ देउवाले भने।
उनले अन्तिम १८ महिनाका लागि आफू प्रधानमन्त्री हुने बताए। ‘ओलीजीले अन्तिम १८ महिनाका लागि प्रधानमन्त्री बनाउँछु भनेर सहमति गर्नुभएको छ। तपाईँ सबैको साथ र सहयोगले म प्रधानमन्त्री हुन्छु,’ उनले भने।
देउवाले कांग्रेसमा अन्धकार भन्ने रोग लागेकाले त्यसलाई सदाका लागि निर्मुल पार्ने पनि बताए । ‘पार्टीभित्र आन्तरिक प्रतिस्पर्धा होला, तर भोट हाल्ने बेला हामी एक हुनुपर्छ। म त्यसको सुरुवात सुदूरपश्चिमबाटै होस भन्न चाहन्छु,’ उनले भने।


